मोरङ । मोरङमा धानखेतको बीचमा रहेको बाँसको झ्याङभित्र एक युवती अचेत अवस्थामा फेला परेकी छन् । कटहरी गाउँपालिका वडा नम्बर २ को बाँसको झ्याङभित्र मुखमा पट्टी लगाएर हातखु्टटा बाँधिएको अवस्थामा अचेत अवस्थामा एक युवती फेला परेकी हुन् ।
मोरङका डीएसपी वेदप्रकाश जोशीका अनुसार अचेत अवस्थामा भेटिएकी महिला जहदा गाउँपालिका वडा नम्बर ३ निवासी २२ वर्षीय युवती हुन् ।
मंगलबार बिहान पराल लिन गएकी महिलाले देखेपछि प्रहरीलाई जानकारी गराएकी थिइन् ।
घटनाको खबर पाएलगत्तै पुगेको टोलीले बाँधेको डोरी खोलेर उनलाई उपचारका लागि अस्पताल पठाएको हो । उनका अनुसार महिलाको स्वास्थ्य अवस्थामा सुधार आउँदैछ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनायो ।
प्रहरीका अनुसार ऋषिदेव थरकी ती महिलाका दुई सन्तान छन् । श्रीमानसँग सम्बन्ध बिग्रिएपछि उनी माइतमा बस्दै आएकी थिइन् । मंगलबार बिहान भने उनी घरबाट निस्किएकी थिइन् ।
‘घरबाट निस्कनुको कारण भने खुलेको छैन, महिलाको शारीरिक अवस्था हेर्दा घटना शंकास्पद छ,’ उनले भने,‘ सबै कोणबाट अनुसन्धान भइरहेको छ ।’
डीएसपी जोशीका अनुसार महिलाले लगाएको कपडा च्यातिएका छन्, शरीरका केही भागमा निलडाम पनि छन् ।
‘अहिले विभिन्न कोणबाट घटनाबारे अनुसन्धान भइरहेको छ,’ उनले भने,‘ १–२ दिनमा सबै विषय खुल्छ ।’ उनले महिलालाई हातखुट्टा बाँधेर छाड्नेको खोजी भइरहेको बताए ।