वीरगन्ज । यही शुक्रबार पर्साको बहुदरमाई नगरपालिकाको कार्यलयमा भएको तोडफोड तथा आगजनीको घटनामा संलग्नहरुमाथि प्रहरी कारबाही सुरु भएको छ ।
सरकारी कार्यालयमा तोडफोड भएपछि पर्सा प्रहरीले घटनामा संलग्नहरुमाथि मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाएको हो । नगरपालिकाका मेयर सिंगासन साह तेलीले जाहेरी दिएपछि मुद्दा दर्ताको प्रक्रिया अगाडि बढेको प्रहरीले जनाएको छ ।
पर्सा प्रहरीका अनुसार सो घटनामा संलग्न रहेकाहरुमाथि भिडिओको आधारमा मुद्दा दर्ता भइसकेको छ, जसमध्ये दुइजना अहिले पक्राउ परेका हुन । शुक्रबार नगरपालिकाको कार्यालयमा तोडफोड गरेको घटनामा संलग्न रहेको आरोपमा दुइ जना विद्यार्थी पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।
दुबै जनामाथि आपराधिक उपद्रावसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । नगरपालिकाका नगरप्रमुख सिंगासन साह तेलीले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
डिएसपी लम्सालले भने, ‘नगरप्रमुख तेलीले नगरपालिका कार्यालयमा तोडफोड गरेको भिडियो प्रहरीलाई उपलब्ध गराउनुभएको थियो । त्यहि भिडियो अनुसार मेयर साहबले अन्य १५–२० जना विद्यार्थीको समेत नाम टिपाउनुभयो, तर उनीहरु फरार रहेकाले खोजी हुँदैछ ।’
पालिकाको वडा नम्बर– ४ स्थित नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले नियमित पठनपठानको माग गर्दै नगरपालिकामा तोडफोड गरेका थिए ।
लामो समयदेखि तलब नपाएपछि शिक्षकहरुले विद्यालय ठप्प गरका थिए । पठनपाठन ठप्प भएपछि आक्रोशित विद्यार्थीहरुले बिहीबार विहान नगरपालिकाको कार्यालय तोडफोड गर्दै तालाबन्दीमा उत्रिएका थिए ।
यद्यपी उनीहरु यतिमै रोकिएनन्, शुक्रबार बिहान आक्रोशित विद्यार्थीले नगरपालिकाको कागजात तथा फर्निचर सामानहरुमा समेत आगो लगाइदिएका थिए । घटनामा अन्य १५–२० जना विद्यार्थीसमेतको संलग्नता रहेको जनाइएको छ ।