वीरगन्ज । वीरगन्ज महानगरपालिकाको नगवामा–मुसहर्वाको बाटो कालोपत्र गर्न ठेकेदार कम्पनीले खेलाँची गरेको पाइएको छ ।
वीरगन्जको नगवादेखि बाराको मुसहर्वासम्मको ५ किलो मिटर बाटो निर्माण गर्न ठेकेदार कम्पनीले दुइ वर्ष लगाउँदा पनि निर्माण अझ अधुरै रहेको छ ।
एक वर्षमा सकिनुपर्ने काम दुइ वर्ष लाग्दा पनि अधुरै रहेको पाइएको छ । नगवादेखि बाराको मुसहर्वासम्म जोड्ने उक्त सडकको निर्माणको कार्य दुइ वर्ष भन्दा बढी भइसक्दा पनि अझ निर्माण कार्य सम्पन्न हुन नसकेको ठेकेदार कम्पनीले जनाएको छ ।

डेढ करोड रुपैयाँको लागतमा सडक निर्माणको जिम्मा शिवा ‘कन्सट्रक्सन’ले पाएको थियो । जहाँ ती कम्पनीसंग सम्झौता गरिएको थियो– ०८० साल पुष ८ गतेसम्म सडक निर्माण गरी हस्तान्तरण गर्नुपर्ने छ ।
तर यो समयावधि सकिएर अर्को थप एक वर्ष पुग्न लागेको छ । अर्थात् ०८१ सालको पुसको पहिलो सातासम्मा उक्त सडक निर्माणको कार्य जस्ताको त्यस्तै रहेको देखिन्छ, जुन कुरा पूर्वाधार विकासको कार्यालयले पनि पुष्टि गरिरहेको छ ।
पूर्वाधार विकास कार्यालय पर्साका अनुसार अहिलेसम्म उक्त सडकमा जम्मा २० प्रतिशत मात्र काम सम्पन्न भएको छ । बाँकी ८० प्रतिशत काम अझै अधुरौ नै रहेको पूर्वाधारको कार्यालयले जनाएको छ । निमार्णको समयावधिपभत्र काम नसक्नु दुःखद भएको पूर्वाधार कार्यालयका लालबाबु राय बताउँछन् । तर यसको बाबजुद पनि निर्माण कम्पनीले अझ निर्माणका लागि म्याद थपको प्रक्रिया चालेको बताउँछ ।
शिवा कन्सट्रक्सनका म्यानेजर सुशिल ठाकुरले सडक निर्माणका लागि म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको दाबी गर्छन् ।

उनका अनुसार अब नालाको मात्र केहि काम बाँकी छ । चाँडै नै काम सकाएर सडकको काम समेत यथासिघ्र तयार गर्ने योजना बनाएको उनको भनाइ छ ।
स्थानीयलाई सास्ती
तोकिएको समयावधिभित्र सडक निर्मााण्को कार्य नसकिदा स्थानीयलाई सास्ती खेप्नु परेको छ । सडक निर्माणको कार्य अलपत्र हुँदा दैनिक आवातजावतमा समस्या आउने गरेको स्थानीयहरुको गुनासो छ ।
तर यो सब भोटको राजनीति भइरहेको स्थानीयहरु नै बताउँछन् । वीरगन्ज–१६ का जोगी राम भन्छन्, ‘किनभने भोट बचाउँनका लागि ४० फिटे बाटोलाई ३० फिटमा घटाइयो, आफ्नो कार्यकर्ताको घरजग्गा बचाउनका लागि यो सब फन्डा अपनाइएको छ । जुनकारणले कतिपयले त बाटो च्याँपेर घरसमेत बनाइसकेका छन्, मूलतः यहीकारणले ढिलाइ हुन गएको देखिन्छ ।’

पञ्चायतकालमा बनाइएको बाटा दोस्रो पटक पुनः निमार्णधिन अवस्थामा पुगेको छ । बाटो नबन्दा विशेषगरी वर्षायाममा आवातजावत गर्न समस्या हुने गरेको सवारी चालकहरुको गुनासो छ । पानी परेको समयमा सवारीहरु चिप्लिने समेत गरेको उनीहरु सुनाउँछन् । उक्त सडक तयार भएपछि वीरगन्जको लक्ष्मनवा, भिस्वा, नगवा र ईनर्वा गाँउ आवातजावतमा सहज हुनेछ ।