वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले एनपीएल क्रिकेट प्रतियोगिताको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् ।
सिएम सतिश सिंह नामक फेसबुक पेजमा स्टाटस लेख्दै उनले बिजेता टोली जनकपुरलाई बधाई दिएका हुन् ।
उनले लेखेका छन्, ‘जनकपुर बोल्ट्स, हार्दिक बधाई । अपेक्षा गरिएअनुसार एनपिएलको फाइनल खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । उच्च आत्मबल र सशक्त रणनीतिका साथ जनकपुर बोल्ट्सलाई विजयी लक्ष्यमा पुर्याउने सबै खेलाडी, खेल अधिकारी तथा टोलीसम्बद्ध सबैलाई हार्दिक बधाई एवम् उत्तरोत्तर प्रगतिको शुभकामना ।’
मुख्यमन्त्री सिंह आफैँ खेलाडीहरुको मनोबल बढाउन कीर्तिपुरस्थित खेलमैदानमा पुगेका थिए । दर्शकदीर्घामा बसेर जनकपुर बोल्ट्स र सुदूरपश्चिमबीचको खेलको आनन्द लिन पाउँदा निकै खुसी लागेको उनले बताएका छन् ।

स्टाटसमार्फत उनले क्रिकेटलगायत खेलकुद क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको जनाएका छन् ।
शनिबार टीयु क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरले एनपीएलको उपाधि जितेको थियो ।