सप्तरी । सप्तरीमा बजार अनुगमन टोलीले चार सयभन्दा बढी बोरा रासायनिक मल जफत गरेको छ ।
टोलीले मङ्सिर १९ देखि पुस ३ गतेसम्मको अवधिमा चार सय पन्ध्र बोरा मल जफत गरेको जनाएको छ । यही पुस ३ गते बुधबार जिल्लाको बोदेबरसाइन नगरपालिका वडा नम्बर ५ स्थित माँ डाक्नेश्वरी टेड्रर्समा छापमारी ५६ बोरा रासायनिक मल जफत गरिएको जनाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवका अनुसार डाक्नेश्वरी नगरपालिका–५ मा दर्ता रहेको उक्त टेड्रर्सले कालोबजारी गरी मल बिक्री गर्दै आएको थियो । डाक्नेश्वरी नगरपालिका–९ को आदर्श ट्रेडर्स एन्ड सप्लायर्सबाट दुई सय बीस बोरा र हनुमाननगर कङ्कालिनी नगरपालिका–७ का सत्यनारायण यादवको घरबाट एक सय ३९ बोरा मल जफत गरिएको थियो ।
जफत गरिएको मल साल्ट ट्रेडिङको अनुदान प्राप्तमध्यकै रहेको सहायक प्रमुख जिल्ला अधिकारी यादवले बताए । सो मल जफत गर्ने बेला सम्बन्धित व्यक्ति नभेटिएकाले कोही पनि पक्राउ नपरेको उनले जानकारी दिए ।
अनुगमनका क्रममा बिल बीजकबिना कारोबार गर्दैआएका चारवटा संस्थालाई जरिवानासमेत गरिएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–९ को नर्सिङ कृषि संस्था लिमिटेड, जयबाबा गणिनाथ उपभोक्ता संस्था लिमिटेड, हंस उपभोक्ता संस्था लिमिटेडलाई पाँच हजार र कृति टेड्रर्स राजविराजलाई रु बीस हजार जरिवाना गरिएको बताइएको छ ।