हेटौँडा । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योगको उपकरण मर्मतको काम सकिन लागेकाले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गरिने तयारी भएको जनाइएको छ ।
उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीका अनुसार उपकरणको कार्य पुसको १० गतेसम्ममा सकिने र त्यस लगत्तैबाट उत्पादन गर्ने तयारीमा रहेको उनले बताए ।
उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणको मर्मत कार्य अझै भइरहेकै बताउँदै अध्यक्ष भण्डारीले तिहारसम्ममा मर्मत सकिने र त्यस लगत्तै पुनः सिमेन्ट उत्पादनको कार्य सुरु गर्ने अनुमान गरेकोमा उपकरण मर्मतको काम नसकिएकाले उद्योग सञ्चालन गर्न समय लागेको बताए ।
उपकरणको मर्मत गर्नुपर्ने भन्दै उद्योग व्यवस्थापनले असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको उनले बताए ।
कच्चा पदार्थको कुनै अभाव नरहेको भन्दै उनले उद्योगलाई चाहिने करिब ४०० मेट्रिक टन कोइला मौज्दात रहेको बताए ।
थप कोइला खरिदको प्रक्रिया अघि बढिसकेकाले कोइलाको समस्या नहुने उनको भनाइ छ । आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो ।