वीरगन्ज । पर्साको बहुदरमाइ नगरपालिकाको कागजात तथा फर्निचर सामानहरुमा विद्यार्थीहरु आगो लगाइदिएका छन् ।
बिहीबारदेखि पठनपाठन अवरुद्ध भएपछि विद्यार्थीहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।
तर अझ पनि आफ्नो मागप्रति मेयर सिंगासन साह तेली गम्भीर नभएको भन्दै विद्यार्थीहरुले शुक्रबार विहानै कार्यालयको सामान तथा कागजात बाहिर निकालेर आगो लगाइदिएका हुन ।
बहुदरमाइ वडा नम्बर ४ का वडाअध्यक्ष सुरेन्द्र यादवका अनुसार विद्यार्थीहरुले नगरपालिकाको कुर्सी, टेबल, दराज, कागजात तथा कम्प्यूटर बाहिर निकालेर आगो लगाइदिएका छन् ।
उनका अनुसार हिजोदेखि शिक्षकहरुले विद्यालय बन्दको पठनपाठन ठप्प गरेपछि नगरपालिका वडा नम्बर– ४ स्थित नेपाल राष्ट्रिय उच्च माविका विद्यार्थीहरुले आन्दोलित भएका हुन ।
लामो समयदेखि तलब नपाएपछि शिक्षकहरु विद्यालय बन्द गरेका हुन । विद्यालय बन्द भएपछि आक्रोशित विद्यार्थीहरु बिहीबार विहान नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको वडा नम्बरका वडाअध्यक्ष यादव बताउँछन् ।
उनका अनुसार करिब ६ महिनादेखि शिक्षकहरुले तलब पाएका छैनन्, त्यही रिसले शिक्षकहरु सल्लाह गरेर आजदेखि पठनपाठन ठप्प पारे ।
उनी भन्छन्, ‘शिक्षकहरु एकाएक विद्यालय बन्द गरेपछि विद्यार्थीहरु पनि आक्रोशित भए, त्यसपछि उनीहरुको टोली संयुक्तरुपमा आएर नगरपालिकाको कार्यालयमा तालाबन्दी ग¥यो । त्यो ताल्चा अहिलेसम्म खुलाइएको छैन ।’
मेयर सिंगासन साह तेलीले बजेटमा अख्तियारी नदिँदा नगरपालिकाको खाता सञ्चालन हुन सकेको छैन ।
लामो समयदेखि शिक्षक, कर्मचारी तथा ज्येष्ठ नागरिकहरुले भत्तासमेत लिन नसकेको वडाअध्यक्ष यादवको भनाइ छ ।
नगर परिष्द भइसक्दा पनि मेयर तेलीले बजेट खर्चको अख्तियार प्रदान नगर्दा विवाद उग्ररुप लिँदै गएको हो ।