वीरगन्ज । लागू औषधसहित मकवानपुरबाट दुइ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ निवासी १९ वर्षका आर्यन अन्सारी र मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ बस्ने २५ वर्षका निश्चल विश्वकर्मा रहेका छन् । उनीहरुलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौँडा–१५ रातोमाटे चेकप्वाइन्टबाट पक्राउ गरेको हो ।
प्रहरीले पूर्व पश्चिम लोकमार्गस्थित सडकखण्डमा पथलैयाबाट हेटौँडातर्फ जाँदै गरेको ना ६१ प् ७४९२ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गरेको थियो । सोही क्रममा उनीहरुको साथबाट लागू औषध ओनेरेक्स एकसय एमएलको ५ बोतल फेला पारेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई लागू औषध सम्बन्धी मुद्दामा मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनायो ।