वीरगन्ज । १५ किलो लागू औषध गाँजासहित दुई जना भारतीय नागरिकलाई बारा प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगन्जबाट उनीहरुलाइ पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय अमलेखगन्जबाट प्रहरी वरिष्ठ नायब निरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाइ गाँजासहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहार राज्य जिल्ला पूर्वीचम्पारण मोतिहारी थाना गोबिनगन्ज ग्राम पंचायत मुरा-१४ चनडीस्थान गाउँ बस्ने २६ वर्षका अखिलेश कुमार साह र सोही स्थानका १९ राजकुमार पासवान रहेेका छन् ।
प्रहरीले हेटौडाबाट पथलैयातर्फ आउदैँ गरेको बिआर २२ जे ५३३३ नम्बरको भारतीय प्लेटको कारलाई शंका लागेर जाँच गरेको थियो । सोही क्रममा कारको सिट मुनि फलामको फल्स बटम बनाई लुकाइछिपाई राखिएको अवस्थामा गाँजा फेला परेको बाराका निमित्त सूचना अधिकारी बलराम श्रेष्ठले बताए ।
उनका अनुसार उनीहरुको साथबाट सानो ठूलो गरि ४ पोकामा १५ किलो गाँजा बरामद भएको हो । पक्राउ परेकाहरुमाथि आवश्यक कानुनी प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनायो ।