सप्तरी । सप्तरीको राजविराज विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको छ । बुद्ध एयरको विमानले उक्त विमानस्थलबाट रात्रिकालीन उडान सुरु गरेको हो ।
रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद्ध एयरले उक्त विमानस्थलमा व्यावसायिक रूपमा रात्रिकालीन उडान सुरु गरेको जनाइएको छ ।
राजविराज विमानस्थलमा रात्रिकालीन उडानको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्धघाटन समेत गरेका छन् । उद्धघाटन गर्दै मन्त्री पाण्डेले यहाँबाट रात्रिकालीन सेवा सुरु भएसँगै पर्यटन तथा अर्थतन्त्रमा उल्लेख्य टेवा पुग्ने विश्वास व्यक्त गरे ।
यो सेवाले अर्थतन्त्रसँगसँगै विविध क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने उनको भनाइ छ ।
यस्तै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राजविराज विमानस्थलमा रात्रिकालीन उडान हुनु गौरवको विषय भएको बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले राजविराजमा रात्रिकालीन उडानले समग्र विकासको सम्भावनाको ढोका खुलेको उल्लेख गरे ।
राजविराज विमानस्थलमा यसअघि बुद्ध एयरले दिउँसोको समयमा दैनिक एउटा उडान गरिरहेको थियो । नागरिक उड्डयन प्राधिकरणको सहयोगमा बुद्ध एयरले गत शुक्रबार (१३ डिसेम्बर) रात्रिकालीन उडानको परीक्षण गरेको थियो । उक्त उडान सफल भएसँगै बुद्ध एयरले आज काठमाडौँदेखि राजविराजको रात्रिकालीन व्यावसायिक उडान सुरु गरेको हो ।
योसँगै रात्रिकालीन उडान हुने विमानस्थलको सङ्ख्या १० पुगेको छ । भद्रपुर, विराटनगर, राजविराज, सिमरा, जनकपुर, काठमाडौँ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल रात्रिकालीन उडान हुन्छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार विमानस्थलमा आइएफआर नियम अनुसार उडान सुरु भएपछि हिउँदको समयमा कम भिजिबिलिटीका कारण हुने उडान रद्द हुने र डिले हुने समस्याबाट यात्रुहरूले छुटकारा पाउनेछन् ।