ट्रेन्डिङ

औपचारिक रुपले मात्र सकियो गढीमाई मेला, अनौपचारिक रुपमा माघ ५ गतेसम्म चल्ने

बारा । बाराको बरियारपुरस्थित गढीमाईमा लागेको पञ्चवर्षिय मेला यहि माघ ५ गते समापन हुने भएको छ । अनौपचारिक रुपले हिजो अर्थात् मंसिर ३० गते मेला सम्पन्न हुने भनिएपनि औपचारिक तरिकाले मेला अवधि थप भएको हो ।

मेला सुरु भएको अवधिदेखि हालसम्म झण्डै दुइ करोड ५० लाख दर्शनार्थीहरुले अवलोकन गरिसकेको गढीमाई मेला मूल व्यवस्थापन समितिले जनाएको छ ।

यो मेला प्रत्येक पाँच÷पाँच वर्षमा एक महिनासम्म लाग्ने गरेको छ । महागढीमाई नगरपालिकामा लागेको मेला पशु बलिकै रुपमा विश्व प्रसिद्ध छ । गढीमाई मातासँग मागेको भाकल पूरा हुने धार्मिक विश्वास रहि आएको छ । तसर्थ यहाँ नेपालका विभिन्न जिल्लाहरुका साथै छिमेकी राष्ट्र भारतसहित विश्वका कुनाकुनाबाट भक्तजनहरु आउने गरेका छन् । औपचारिक रुपले मेलाको समापन भइसकेता पनि यहाँ अझै भक्तजनहरुको चाँप उत्तिकै छ ।

गढीमाई माता संग दर्शनार्थीहरुले मागेको मनोकामना पूरा भए पछि यहाँ दर्शनार्थीहरु आफ्नो भाकल पूरा गर्न आउने गरेको धार्मिक बिश्वास रहेको छ । सोही कारण भाकल पूरा भएकाहरु भाकल गरे अनुसारको बलि दिन यहाँ आइपुग्ने गर्दछन् ।

प्रत्येक ५ वर्षमा मात्र यो मेला लाग्ने भएकाले यहाँ एकै दिनमा ५० लाखसम्म दर्शनार्थीहरुले मेलाको अवलोकन गर्ने गरेका छन् । विशेषगरी बलिको दिनहरुमा यहाँ थेगिनसक्नु भीड हुने गरेको छ । मेलामा अहिले पनि दर्शनार्थीहरुको उपस्थिति बाक्लो रहेको तथा अझै १५ लाख दर्शनार्थीहरुले मेलाको अवलोकन गर्न आउने अनुमान गरिएको महागढीमाईका नगरप्रमुख एवम् गढीमाई मेला मूल व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र यादव बताउँछन् ।

मुख्य बलिका दिन बढी भीडभाड भएकाले कतिपयको भाकल अधुरो रहेको बताउँदै उनले माघ १ गते संक्रान्तीका दिन पून भाकल पूरा गर्न आउनेको सङख्या उल्लेख्य रहने उनी सुनाउँछन् ।
२०८१ सालको विश्व प्रसिद्ध गढीमाई मेला सभ्य, भव्य एवम् शान्तिपूर्ण तरिकाले सम्पन्न भएको उनको भनाइ छ । उनका अनुसार मेलाको आगामी समय समेत वातावरण शान्त रहने अनुमान छ । यसवर्षको बलिमा ८ हजारभन्दा बढी रांगा तथा लाखौँ बोका बलि चढाइएको छ ।

यस्तै मेलाको अवलोकन गर्नका लागि बाराका सम्पूर्ण पालिकाहरुले विद्यालय, सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था लगायतमा बिदा समेत दिएका थिए ।

मेलामा दर्शनार्थीको सहजताका लागि बिजुलीबत्ती, सीसीटिभी क्यामरा, शौचालय, पार्किङ, खानेपानी, घुम्ती एटिएम, मन्दिर वरिपरि वाईफाई, मेलास्थलको सबै नाकातिर पार्किङ, ट्राफिक व्यवस्थापन, निःशुल्क स्वास्थ्य जाँच शिविर, एम्बुलेन्स, वारुणयन्त्र तथा भोजनालयलगायतको ब्यवस्था समेत गरेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै