नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले ३३ रनले बिजय भएको छ । १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ८ बिकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको हो।
चितवनका लागि लुक बेन्केनसटाइनले सर्वाधिक ३१ रन बनाउनबाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान कुशल मल्ल २०, रवि बोपारा १२ र सन्तोष कार्की १० रन बनाएर आउट भए ।
दशौँ नम्बरमा ब्याटिङ गरेका नरबहादुर शार्कीले १२ बल खेल्दै अविजित २२ रन बनाए । उनले एक चौका र एक छक्का प्रहार गरे । रिजन ढकालले १४ बलमा अविजित १५ रन बनाए ।
रामोन सिमोण्ड्ससँगै नयाँ बलमा बलिङ गरेका रोहितले ४ ओभरमा १७ रन मात्र खर्चेर ४ विकेट लिएका हुन् । मुख्य बलरहरुले विकेट लिन संघर्ष गरिरहँदा रोहितले पार्ट टाइम स्पीन बलिङबाट विपक्षीको विकेट झारेका हुन् ।
बलिङमा उनले रामोन सिमोण्ड्ससँग नयाँ बल बलिङ गरेका थिए । दोस्रो ओभरमै बलिङ गरेका रोहितले सुरुमै विपिन राउललाई आउट गरे । त्यसपछि चौथो ओभरमा सोहेल तनविरलाई कट एण्ड बोल्ड गरेका रोहितले १२औं ओभरमा रवि बोपारा र १४औं ओभरमा जान निकोल लफ्टी इटनलाई आउट गरे ।
लुम्बिनीका रामोन सिमोण्ड्सले ३ ओभरमा १५ रन खरेचेर २ विकेट लिए । साद विन जफर र अभिशेष गौतमले १(१ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेल र साद विन जफरको अर्धशत मदतमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो ।
दुई ओभरभित्रै २ विकेट गुमाएको र ३८(३ को अवस्थामा रहेको लुम्बिनीका लागि रोहित र साद विन जफरले शतकिय साझेदारी गर्दै इनिङ्स उकासेका थिए । रोहितले ब्याटिङमा दुई विकेट गएपछि दोस्रो ओभरमै क्रिजमा आएर इनिङ्स सम्हालेका थिए ।
रोहितले अन्तिम ओभरमा आउट हुनुअघि ५७ बल खेल्दै ८० रन बनाए । उनले ६ चौका र ५ छक्का प्रहार गरे । रोहितले एनपीएलमा बनाएको यो दोस्रो अर्धशतक हो ।
यसअघि उनले पोखरा एभेन्जर्स विरुद्ध ९५ रन बनाएका थिए । यस्तै विन जफरले ३५ बल खेल्दै ४ चौका र १ छक्का मदतमा ५२ रन बनाए ।
रोहित र विन जफरले पाँचौ विकेटका लागि ११४ रनको साझेदारी गरेका थिए । एनपीएलमा पाँचौ विकेटका लागि भएको यो पहिलो शतकिय साझेदारी हो भने समग्रमा पाँचौ शतकिय साजेदारी हो ।
लुम्बिनीका लागि अर्जुन साउदले १५ र टम मुर्सले १० रन जोडे ।
बलिङमा चितवनका रिजन ढकाले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । कप्तान कुशल मल्ल र रन्जित कुमारले समान एकरएक विकेट लिए ।