बीरगन्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले ‘मुकाम’ नामक पुस्तकको बिमोचन गरेका छन् । नगरप्रमुखको कार्यकक्षमा सोमबार आयोजित एक कार्यक्रमकाबीच मेयर सिंहले पुस्तक बिमोचन गरेका हुन् ।
कार्यक्रममा बोल्दै नगरप्रमुख सिंहले बैभव बीरगन्जको परिकल्पनालाई सार्थक बनाउन आर्थिक, धार्मिक, औद्योगिक र पर्यटन करिडोरलाई समेटेर पुस्तक प्रकाशित भएकोमा खुसी व्यक्त गरे ।
उनले पर्यटकीय सम्भावनाका हिसावले बीरगन्जलाई केन्द्रमा राखेर यस करिडोर अन्तर्गत पर्ने सिम्रौनगढ–ठोरी–माडी सम्मका गन्तब्य लगायत चुरियामाई सुरुङ्गदेखि यस क्षेत्रका धार्मिक मठमन्दिरलाई समेटेर विशेषाङ्क प्रकासित गरेकोमा मुकाम मिडिया नेटवर्कलाई धन्यबाद ज्ञापन गरे ।
मुकामभित्र समेटिएका ठोरी, माडीदेखि सिम्रौनगढ सम्मका साँस्कृतिक ऐतिहासिक गन्तब्य लगायत पर्सा राष्ट्रिय निकुन्ज र चुरियामाई क्षेत्रसम्मको पर्यापर्यटनको सर्किटको रुपमा बैभव बीरगन्जको धार्मिक पर्यटकीय सर्किट बनाउन सके यसक्षेत्रमा पर्यटनको विकास गर्न सकिनेमा उनको जोड छ ।
नगरक्षेत्र अन्तर्गतका धार्मिक स्थल तथा प्रवेशद्धारको सौन्दर्यकरण, बृहत्तर सरसफाई लगायतका कामहरु महानगरपालिकाले गरिरहेको बताउँदै उनले भने, ‘अझै नगरबासीका चाहना अनुरुप गर्नुपर्ने धेरै काम छन्, तर बजेट कम छ । बीरगन्जलाई आर्थिक राजधानी मात्र होईन धार्मिक र पर्यटकीय हिसावले पनि ‘भिजिटिङ हब’ बनाउने अभियानमा महानगर जुटेको छ ।’
कार्यक्रममा मुकाम मिडियाका प्रकाशक गिता भुषालले नगरप्रमुख सिंहको बीरगन्जलाई पर्यटनका माध्यमबाट समृद्ध बनाउने उद्देश्यलाई विशेषाङ्क मार्फत आफूहरुले उतार्ने प्रयास गरेको बताइन् ।
विशेषाङ्क बिमोचन कार्यक्रममा नगर प्रमुखका स्वकीय सचिव सत्यराज घिमिरे, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, आमसञ्चार माध्यम प्रबद्र्धन तथा नियमन समितिका संयोजक ध्रुब अधिकारी लगायतको सहभागिता रहेको थियो ।
यसअघि मुकाम मिडीया नेटवर्कका प्रकाशक गिता भुषाल, कार्यकारी निर्देशक जिके पोख्रेलले नगर प्रमुख सिंहलाई पुस्तक हस्तान्तरण गरेकी थिइन् । नेपाली तथा अंग्रेजी भाषामा प्रकाशित मुकाम विशेषाङ्कले यहाँका गतिविधीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा जोड्ने हुँदा पर्यटन प्रबद्र्धनमा महत्वपुर्ण योगदान पुग्ने विश्वास लिईएको छ ।