बीरगन्ज । बारामा जारी गढीमाई पञ्चवर्षीय मेलामा आज बोकाको बलि दिइदैँछ ।
भाकल पूरा भएर बोका बलि चढाउन मेलामा आउनेहरुको आज बिहानैदेखि घुइँचो लागेको छ । यहाँ नेपालका साथै भारतको विभिन्न स्थानबाट आज पनि लाखौँ भक्तजनहरु बोका लिएर आउने क्रम जारी छ ।
गढीमाईको पञ्चवर्षीय मेला हेर्न तथा बलिका लागि बोका लिएर आउनेहरुको अत्यधिक चापको कारणले बाराको सदरमुकाम कलैयादेखि मन्दिर रहेको बरियापुरसम्म नै अत्यधिक भीडभाड र घुइँचो छ । अत्यधिक दशनार्थीहरुको भीडको कारणले ट्राफिक व्यवस्थापनमा जटिलता छाएको छ ।
वीरगन्ज कलैया हुँदै बघवन चोकसम्मको ट्राफिक व्यवस्थापन राम्रो देखिन्छ । तर बघवन गाउँ छेउ पसाहा नदीको पुलदेखि भने मेलासम्मको ट्राफिक व्यवस्थापन फितलो रहेको छ । सयौँ मोटरसाइकल, ट्याम्पो, बस, जिप, ट्याक्टरले पसाहा पुल बिहानैदेखि अवरुद्ध बनेका छन् ।
बिहानैदेखि नै बोका लिएर सयौँँ भक्तजन पुलमा अलपत्र परेका छन् । कैयौँ मानिस नदी तरेर भएपनि बोका लिएर गढीमाई मन्दिरतर्फ लम्किरहेका छन् ।
हिजो रांगा बलि :
आइतबार विहान ४ बजेदेखि ६ बजेसम्म धार्मिक परम्पराअनुसार पूजापाठ र अनुष्ठान गरेपछि ब्रहमबाबाको नजिकै बनाइएको मौलोमा पञ्चबलि दिइसँगै बलि दिने क्रम सुरु भएको थियो ।
जसअनुसार हिजो आइतबार प्रमुख दिन राँगा बलि दिइएको थियो ।
मुख्य दिन करिब १० हजार रांगाको बलि चढाइएको पञ्चवर्षीय गढीमाई मेला व्यवस्थापन समितिले जानकारी दिएको छ । बिहानैदेखि दिउँसोसम्म चलेको बलिमा १० हजार रांगा बलि चढेको समितिको भनाइ छ ।
यो गत वर्षको तुलनमा कम भएको बताइन्छ । भारतबाट आउने रांगाहरुलाई नेपाल प्रवेश गराउन अनुमति नदिइएकाले यसवर्ष रांगा बलिको सङख्यामा कमि आएको अनुमान समितिले गरेको छ ।
यो वर्षको मेलामा करिब ३ करोड दर्शनार्थी मेलाको अवलोकन गर्ने मेला समितिको अनुमान छ ।
पुत्र लाभ, जटिल रोग निको हुने, कुनै दुर्घटना हुँदा वा अचानक बिरामी पर्दा निको पार्न अभिभावकले गढीमाई मन्दिरमा परेवा उडाउने, बोका, राँगाको बली चढाउने भाकल गर्दछन् ।
विश्व प्रसिद्ध गढीमाई मेला प्रत्येक पाँच वर्षमा लाग्ने गर्छ । मङ्सिर १ गते देखि सुरु भएको गढीमाईको मेला मङ्सिर ३० गतेसम्म चल्ने छ ।