बारा । बाराको वरियारपुरस्थित गढीमाई पञ्चबर्षीय मेलामा दर्शनार्थीहरुको घुइॅंचो बढेको छ । विशेष पूजा नजिकिएसॅंगै मेलामा दर्शनार्थीहरुको भिड बढेको हो ।
मंसिर १ गतेदेखि सुरु भएको गढीमाई मेलामा मंसिर २२ गते शनिवार अर्थात आज हालसम्मकै उच्च भिडभाड भएको बताइन्छ ।
आज बिहानैदेखि गढीमाई माताको दर्शन गर्न आउनेहरुको चांप बढ्दो छ । यहां देशका विभिन्न जिल्लासहित छिमेकी राज्य भारतसहित अन्य मूलुकबाट दर्शन गर्न लाखौंको संख्यामा भक्तजनहरु आएका जनाइएको छ ।
शनिबार सम्पूर्ण सरकारी कार्यालय, बैंक लगायतमा बिदा हुने भएकाले आज मेला घुम्न आउनेको सङ्ख्या उल्लेख्य बढेको बताईएको छ ।
यस बर्षको मेलामा एक करोडभन्दा बढी दर्शनार्थीले अवलोकन गर्ने गढीमाई मेला मूल व्यवस्थापन समितिको अनुमान छ । आजसम्म तीस लाख भक्तजनहरुले मेलाको अवलोकन गरेका जनाइएको छ ।

यसैबिच भोली र पर्सी गढीमाइ मेलामा बलि दिइनेछ । भोली रांगा बलि तथा पर्सी बोका बलि हुने समितिले बताएको छ ।
भोली विशेष पूजापछि पशु बलि दिने क्रम सुरु हुने समितिका अध्यक्ष एवंम् महागढीमाईका मेयर उपेन्द्र यादवले बताए । गढीमाई मन्दिरका मुल पूजारीले नर बलि दिए पछि मात्र गढीमाई मेलामा पशु बलि दिन सुरु हुने उनले जनाए ।
अहिले पशु बलिको लागि मेलामा करिब ५ हजार रांगा आईसकेको र अझै रांगा आउने क्रम जारी रहेको बलि ब्यवस्थापन उपसमितिले जनाएको छ ।
गढीमाई मन्दिरका मूल पूजारी शिव चौधरीका अनुसार यसवर्ष १७ हजार बलि चढ्ने अनुमान छ ।
सुरक्षा व्यवस्था कडा :
गढीमाई मेलामा आउने भक्तजनहरुको सुरक्षा कडा पारिएको समितिले जानकारी दिएको छ ।मेलालाई सभ्य, भव्य एवम् व्यवस्थित पार्न सुरक्षा कडा बनाइएको हो ।
मेयर यादवका अनुसार मेला भर्न तथा घुम्न आउने दर्शनार्थीहरुको सुरक्षामा कुनै कसर बांकी छोडिएको छैन ।
दर्शनार्थीहरुको बास, खाना लगायतको सुविधालाई मेला समितिले व्यवस्थित बनाएको उनी बतांउछन् । अन्य वर्षको तुलनामा यसवर्ष मेलाको व्यवस्थापन गरिएको छ ।

दर्शनार्थीहरुलाई असहज नहोस् भन्ने उद्देश्यले मन्दिरमा पंक्तिबद्ध भई दर्शन गर्न ब्यारेकेटिंग गरेर व्यवस्थित बनाइएको उनले बताए ।
यस्तै विशेष पूजा गर्नका लागि पाँच सयको नगदी रसिद लिएर जाने व्यवस्था गरिएको मेयर यादवको भनाई छ ।
यसको बाबजुद ३००० संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी परिचालन गरिएको छ । यस्तै नगर प्रहरी, स्वयमसेवकहरु समेत भक्तजनहरुको सुरक्षार्थ खटिएका छन् ।
यस्तै मेलामा हुन सक्ने उच्छृङ्खल गतिविधिलाई निष्तेज पार्नका लागि ३५० भन्दा बढी सिसिटिभी क्यामराबाट निगरानी भईरहेको उनी सुनाउँछन् ।
साथै मेलामा भक्तजनहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै निशुल्क स्वास्थ्य शिविर, खानेपानी, घुम्ती शिविर, शौचालय, दाउरा लगायतको प्रबन्ध मिलाईएको गढीमाई मेला मूल व्यवस्थापन समितिले जनायो ।
