सप्तरी । सप्तरीका एकजना नवनिर्वाचित वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।
हत्या आरोप लागेका सप्तरीको डाक्नेश्वरीस्थितका नवनिर्वाचित वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साह रहेका छन् । उनलाई प्रहरीले शपथ ग्रहण समारोहबाट पक्राउ गरेको हो।
३८ वर्षीय उनलाई वडाध्यक्षको शपथ ग्रहण गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले नियन्त्रणमा लिएको हो ।
उनी गत मंसिर १६ गतेको स्थानीय तहको उपनिर्वाचनमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
उनलाई कर्तव्य ज्यान मुद्दामा नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।
के थियो घटना ?
साहमाथि जवरजस्ती करणी, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानको अभियोग लागेको थियो ।
२०७८ चैत २२ गते बिहान सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ माधोपुरमा धीरेन्द्रकुमारसहितले एकजना महिलालाई जवरजस्ती करणी गरी ज्यान मारेको भन्दै जाहेरी परेको थियो ।
साहसहितविरुद्ध जवरजस्ती करणी र कर्तव्य ज्यान शीर्षक मुद्दाको जाहेरी २०७० साउन १७ गते हुलाकबाट जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो ।
त्यसपछि २०८० जेठ १० गते जिल्ला सरकारी वकील कार्यालयबाट इलाका प्रहरी कार्यालय कल्याणपुरमा अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा जाहेरी दरखास्त पुगेको थियो ।
उक्त प्रकरणमा उच्च अदालत जनकपुरको राजविराज इजलासबाट २०८० चैत ४ गते यस घटनामा परमादेश जारी भएको थियो । त्यसपछि उच्च सरकारी वकिल कार्यालय राजविराजमार्फत् इलाका प्रहरी कार्यालय कल्याणपुरमा गत साउन ६ गते उक्त परमादेश पुगेको थियो ।
त्यसपछि गत साउन १४ गते इलाका प्रहरी कार्यालयमा मुद्दा दर्ता हुन पुगेको थियो । प्रहरीले यस प्रकरणमा साउन १५ गते नै पक्राउ अनुमति लिइसकेको थियो । तर, साह यही मंसिर १६ गतेको उपनिर्वाचनमार्फत् निर्वाचित भइसकेको अवस्थामा प्रहरीले बिहीबार अपरान्ह पक्राउ गरेको हो ।