ट्रेन्डिङ

एनपिएल : कर्णाली याक्सको पहिलो जित, चितवन ६ विकेटले पराजित

काठमाण्डौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले पहिलो जित निकालेको छ । उसले चितवन राइनोजलाई हराउँदै जित निकालेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले हरायो । जितका लागि एक सय ३१ रनको सामान्य लक्ष्य पछ्याएको कर्णालीले १९.५ ओभरमा चार विकेटको क्षतिमा एक सय ३२ रन जोड्दै लक्ष्य भेट्टायो ।

कर्णालीका लागि भारतीय क्रिकेटर शिखर धवनले ४५ रन बनाए । उनले ४१ बलमा चार चौका र एक छक्काको सहयोगमा उक्त रन जोडे ।

यस्तै चाडविक वाल्टनले ३० र देव खनालले २९ रन जोडे । जिसन मक्सुदले अविजित १२ र अर्जुन घर्तीले ११ रन बनाए । बलिङतर्फ चितवनका कुशल मल्ल, रवि बोपरा र जान निकोल लफ्टी–इटनले एक÷एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३० रन बनाएको थियो ।

चितवनका लागि बोपाराले ४० बलमा सात चौका र एक छक्काको सहयोगमा ५९ रनको योग दिए । कप्तान कुल मल्लले २३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा कर्णालीका विपिन शर्माले तीन विकेट लिए । जिसम मक्सुदले दुई तथा सोमपाल कामी र नन्दन यादवले एक÷एक विकेट लिए ।

यसअघि कर्णाली जनकपुर बोल्ट्ससँग आठ र काठमाडौँ गुर्खाजसँग तीन विकेटले पराजित भएको थियो । तीन खेलका पहिलो हार खेपेको चितवनले यसअघि पोखरा एभेन्जर्सलाई ८७ रन र काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराएको थियो ।

आजै हुने अर्को खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै