बीरगन्ज । बाराको वरियारपुरस्थित गढीमाइ मन्दिरमा लागेको पञ्चवर्षीय मेलामा दर्शनार्र्थीहरुको घुइँचो बढ्दो छ ।
यहाँ यहि मंसिर १ गतेदेखि एक महिना मेला लागेको छ । महागढीमाईको करिब एक हजार बिगाहा आसपास क्षेत्रमा भव्य मेला लागेसंगै गढीमाइ मन्दिरमा दर्शनार्थीहरुको घुइँचो बढ्दो छ ।
गढीमाइ मन्दिरमा लाग्ने पञ्चवर्षीय मेलालाई विश्व प्रसिद्ध मेला मान्ने चलन छ । कारण–गढीमाइ मन्दिर नेपालको एक प्रसिद्ध मन्दिर हो, यहाँ पाँच वर्षमा एकपटक विशेष पूजाआजा हुन्छ । यो अवसरमा विशेषगरी जनावरको बलि दिइन्छ, बलिकै लागि यो मेला परिचित छ । जुन गढीमाइ देवीको पूजा गर्ने अवसरमा मनाइन्छ ।
मन्दिरका पुजारीका अनुसार गढीमाई मन्दिरमा देवी दुर्गाको अवतारलाई शक्तिशाली देवीको रुपमा मानिन्छ, यहाँ मागेको मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । मन्दिरका पुजारी शिव चौधरीले भने, ‘त्यही विश्वासका कारण भक्तजनहरु भाकल गर्छन्, भाकल पूरा भएपछि मन्दिरमा पाँच वर्षमा लाग्ने मेलामा भने अनुसारको भाकल चढाउँछन् । त्यो भाकलमा जनावरको बलि दिइन्छ ।’
यसअघि ०७२ सालको मेलामा ७५ सय राँगाको बलि दिइएको मेला समितिले जनाएको छ । त्यसपछि अर्था्त (०७७ ) सालमा लागेको मेलामा करिब ११ हजारको संख्यामा राँगाको बलि दिइएको गढीमाइ मन्दिरका मुल पूजारी शिव चौधरी बताउँछन् ।
उनका अनुसार राँगा बलिको लागि मात्रै एकदिन ‘स्पेसल’ दिन तोकिएको हुन्छ । राँगासंगै बोका तथा अन्य बलि पनि यहाँ चढाइने मन्दिरका पूजारी चौधरीको भनाइ छ ।
यो वर्ष भने १७ हजार राँगाको बलि चढ्ने अनुमान गरिएको छ । पञ्चबली दिइसकेपछि अन्य बलिको सुरुवात हुन्छ ।
बलि किन ?
बाराको गढीमाइ मन्दिर एक शक्तिपीठ हो, जहाँ भाकल गरेपछि मनोकामना पुरा हुन्छ भन्ने विश्वास गरिन्छ । आफूले मागेको मनोकामना पूरा भएपछि भक्तजनहरुले भाकल अनुसारको बलि दिने गरेका छन् ।
त्यसमा खासगरी राँगा र बोकाको बलि बढी संख्यामा चढाउने गरिन्छ । अझ बढी चाखलाग्दो कुरा के छ भने अन्य मन्दिरमा निषेध गरिएको राँगा बलि भने यहाँ खुलेआम चढाइन्छ । अर्थात् यहाँको मुख्य बलि नै राँगा बलि हुने गरेको छ ।
त्यसको बेग्लै कारण छ । मुल पुजारी शिव चौधरीका अनुसार पञ्चबलिभित्र राँगा पर्दछ, अनि तान्त्रिक विद्याका कारणले खासगरी गढीमाइ मन्दिरमा राँगा बलि दिने गरिएको छ ।
गढीमाइ पञ्चवर्षीय मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव भन्छन् ‘हामीले पूर्वज एवम् दन्ते कथामा सुने अनुसार गाउँकै भगवान दास चौधरी जेलमा थिए, त्यहीबखत गढीमाइ माता उनको सपनामा आउनुभयो । अनि त्यो सपनामा भन्नुभयो अरे–आफ्नो गाउँमा मलाई लैजाउ, अनि मेरो पूजापाठ गर, म तिमीलाई जेलबाट निकाली दिन्छु ।’
सपनापछि मकवापुरगढीकी तुलजा भवानी अर्थात् गढीमाई मातालाई ल्याएर भगवान दास चौधरीले त्रिशुल बाराको वरियारपुरमा गाडेको बताइन्छ ।
उनी भन्छन्, ‘सपनामा आएकी देवीले नै हरेक पाँच वर्षमा मेला लगाउन, बलि दिन भनेकी थिइन् । त्यही बेलादेखि बलि दिन थालिएको हो ।’
यही दन्तकथा मुल पुजारी चौधरी पनि सुनाउँछन् । मुल पुजारी चौधरीका अनुसार पञ्चबलिमा सेतो मुसा, हंस, कुखुरा, राँगो र बोकाको बलि दिइन्छ । जनावरको बलिकै कारण परिचित यो मेलामा भाकल अनुसारको अन्य बलि पनि दिने गरिएको छ । सप्तमीका दिन पूजाआजा गरेर बलिको सुरुवात हुन्छ । मेला सुरु भएको आज १९ दिन भयो । अबको ३ दिन पछाडि अर्था्त २३ र २४ मंसिरमा बलि दिइन्छ ।
यही २३ गते राँगा बलि दिइन्छ भने २४ गते बोकासहित अन्य बलि दिइने तालिका तय गरिएको मुल पुजारी चौधरीले बताए ।
उनका अनुसार यो बलि प्रथा भगवान चौधरीले जुन बेला त्रिसुल गाडे, त्यही बेलादेखि सुरु भएको बताइन्छ । अर्थात् उनकै पालादेखि बला प्रथा सुरु भएको बताइनछ । बलि चढाइएका पशुको टाउँको बेग्लै खाल्डोमा पुरिन्छ भने अन्य भागलाई समितिले स्थानीय व्यक्तिलाई बाँड्ने गरेको मुल पुजारी चौधरी बताउँछन् ।
राँगा बलि नै किन ?
गढीमाइ मन्दिरका मुल पुजारी शिव चौधरी हुन । मन्दिरका मुल पुजारी चौधरी भगवान चौधरीका १० औं पुस्ता हुन ।
अहिलेसम्म भगवान दास चौधरीको ९ औं पुस्ताले गढीमाई मन्दिरको रेखदेख र पूजाआजा गर्दै आएको गढीमाइ पञ्चवर्षीय मेला समिति अध्यक्ष एवम् नगरप्रमुख यादव बताउँछन् । उनै मुल पुजारी चौधरी भन्छन्, ‘गढीमाइ मन्दिरको पुजा गर्नुभन्दा पहिले आफ्नो घरमा पूजाआजा गर्छु, त्यसपछि सातवटा खप्परले तयार बह्मबाबाको मन्दिरमा गएर पूजाआजा गर्छु । यो पूजा गरेपछि बह्मबाबाको त्रिसुल फेर्छु, अनि–गढीमाइको मन्दिरमा गएर गोलो घुमेर पुनः बह्मबाबाको पूजा गर्छु, त्यसपछि बलि सुरु हुन्छ ।’
मौला अर्थात् महिषासुरको पूजा गर्दा उनै दानवको लागि राँगा बलि दिने गरिएको मुल पुजारी चौधरी बताउँछन् । उनले भने, ‘आँपको काठको मौला बनाइन्छ, त्यसपछि खाल्डो खनेर पूजापाठ गरेर मौला खडा हुन्छ । अनि मौलाको पूजासकेपछि राँगा बलि दिइन्छ ।’
अर्को पञ्चबलिभित्र राँगा पर्दछ, अनि तान्त्रिक विद्याका कारणले खासगरी गढीमाइ मन्दिरमा राँगा बलि दिने गरिएको मुल पुजारी शिव चौधरीको तर्क छ ।
यता विश्व ज्योतिष महासंघ एसियाका उपसभापति ज्योति सम्राट डा.पुरुषोतम दुबेले लोक परम्पराका अनुसार बलि दिने गरिएको बताए । उनले भने, ‘कालि माता राक्षसको संघार गर्ने बेला दैत्यको संघार गर्नु भएको थियो, त्यसबेला उहाँले रगतको पान अर्थात् खानु भएको थियो । यहीकारण काली मातालाई प्रसन्न गर्नका लागि बलि प्रथा सुरु भएको हो । त्यो प्रथा अहिलेसम्म चलिरहेको छ ।’
बलि घटाउने के छ नीति ?
गढीमाइ मन्दिरमा लामो समयदेखि बलि दिने चलन छ । हरेक पटक लाग्ने मेलामा यहाँ दिइने बलिको संख्यामा बढोत्तरी हुँदै गएको छ ।
स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयको मौनताले बलि प्रथा बढ्दै गएको देखिन्छ । कारण– यो प्रथा रोक्नका लागि न स्थानीय सरकार चासो देखाइरहेको छ नत सिडिओ कार्यालय नै । तर बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले भने बलि प्रथा संस्थागत रोक्ने विषय रहेको बताए । उनका अनुसार सर्वोच्च अदालतले बलि प्रथा रोक्ने निर्णय नै गरेको छ ।
उनले भने, ‘क्रूर ढंगले पशु बलि दिन नमिल्ने सर्वोच्च अदालतको फैसला छ, तर गढीमाइ मन्दिरको विषय धर्म, संस्कृतिसंग जोडिएको विषय हो । यहाँको बलि प्रथा रोक्नका लागि मेला लाग्नु भन्दा पहिला नै अभियान चलाउनु पर्छ, त्यो अभियानले मात्र गढीमाइको बलि प्रथा रोक्न सकिन्छ ।’
उनका अनुसार मेला समितिले पनि बलि प्रथा रोक्ने निर्णय गरिसकेको छ । तर धर्मसंग जोडिएकोले त्यसलाई संस्थागतरुपमा व्यवस्थापन गर्न छलफल भइरहेको उनको भनाइ छ । मेलाको शान्ति सुरक्षादेखि लिएर पशु बलिलाई क्रूर ढंगले बलि दिन नपाइने भन्दै हामी त्यसको व्यवस्थापनमा लागेको सिडिओ अधिकारीको भनाइ छ ।
यता गढीमाइ नगरपालिकाका मेयर उपेन्द्र यादवले भने बलि प्रथा घटाउने वा रोक्ने विषय सम्भव नरहेको बताए । उनका अनुसार यो धर्म संस्कृतिसंग जोडिएको विषय हो, उहीले देखि चलि आएको प्रथा पनि हो । त्यसकारण बलि प्रथाबारे केही गर्न सकिने अवस्था नरहेको उनी बताउँछन् ।