महोत्तरी । बर्दिबासस्थित होटल तथा पर्यटन व्यवसायीहरूले कालापानी घटनापछि केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफूहरूलाई लक्षित गरी गरिएको प्रचारप्रति गम्भीर आपत्ति जनाएका छन्।
होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले जारी गरेको विज्ञप्तिमा गत जेठ ११ गते बर्दिबास–३ कालापानीमा भएको घटनापछि स्थानीय होटल व्यवसायीहरूलाई जोडेर समाचार तथा टिप्पणीहरू सार्वजनिक गरिनु तथ्यपरक नभएको उल्लेख गरिएको छ।
नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा र सदस्य त्रिलोकी यादवसँग बर्दिबासस्थित होटल गौतममा भएको छलफलका क्रममा व्यवसायीहरूले घटनाबारे आफ्नो धारणा राखेका थिए।
छलफलमा होटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतम, महोत्तरी अध्यक्ष गुञ्जबहादुर कार्कीलगायत प्रदेश तथा जिल्ला तहका पदाधिकारी सहभागी थिए।
संघका अनुसार कालापानी घटनापछि बर्दिबासका पानस होटल र भण्डारी होटलका सञ्चालकलाई समेत जोडेर विभिन्न आरोप लगाइएका समाचार सार्वजनिक भएका छन्, जसले वास्तविकता भन्दा भ्रम फैलाउने काम गरेको छ।
विज्ञप्तिमा जेठ १२ गते जनप्रतिनिधि, सुरक्षा निकाय र सरकारी अधिकारीहरूको उपस्थितिमा भएको छलफलमा वन कार्यालयका कर्मचारीबाट भएको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरिएको र वन कार्यालय प्रमुख अजय मिश्रले त्यसबारे माफी मागेको विषय उल्लेख गरिएको छ।
संघले घटनाको वास्तविक कारण र पृष्ठभूमि बेवास्ता गर्दै होटल व्यवसायीलाई दोषी देखाउने प्रयास भएको दाबी गरेको छ।
साथै, वन कार्यालयका सात कर्मचारीलाई जिउँदै जलाएर हत्या गर्न खोजिएको भन्ने आशयका सामाजिक सञ्जाल पोस्टप्रति पनि आपत्ति जनाउँदै त्यस्ता भ्रामक सामग्री सार्वजनिक गर्नेहरूमाथि कारबाहीको माग गरेको छ।
होटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमले राज्य पक्षले आफ्नो कमजोरी स्वीकार गरिसकेको अवस्थामा पनि होटल तथा पर्यटन व्यवसायलाई लक्षित गरी पूर्वाग्रही ढंगले आरोप लगाइनु दुःखद भएको बताए।
उनले घटनाको निष्पक्ष मूल्यांकन गरी तथ्यका आधारमा सूचना प्रवाह गर्न आग्रह गरे।
संघले पर्यटन तथा होटल व्यवसाय स्थानीय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले अपुष्ट आरोप र भ्रामक प्रचारले व्यवसायीको प्रतिष्ठामात्र नभई समग्र पर्यटन क्षेत्रलाई असर पुग्ने जनाएको छ।