ट्रेन्डिङ

आलोचनापछि एसएसपी सरुवा ‘करेक्सन’ : खोसियो वीरगन्जका शान्तिराज कोइरालाको ट्राफिक नेतृत्व

जिम्मेवारीमा सुरेश काफ्ले

काठमाडौँ । गृह मन्त्रालयले जेठ १८ गते गरिएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा निर्णय ‘करेक्सन’ गरेको छ।

प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको निर्णयअनुसार सार्वजनिक गरिएको सरुवा सूचीमा फेरबदल गरेको हो ।

मन्त्रालयको निर्णयअनुसार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रमुखका रुपमा खटाइएका एसएसपी शान्तिराज कोइरालालाई यु–टर्न गराएर विशेष ब्युरो पठाइएको छ। उनको स्थानमा विशेष ब्युरोमा कार्यरत एसएसपी सुरेश काफ्लेलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयको जिम्मेवारी सुम्पेको छ ।

यसअघि नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जबाट उपत्यका ट्राफिक प्रहरी कार्यालय सम्हालिरहेका कोइरालाको नियुक्तिप्रति प्रहरी संगठनभित्रै प्रश्न उठेको थियो। प्रदेश कार्यालय वीरगञ्जको प्रमुख बनिसकेका उनलाई उनलाई पुनः अर्को कार्यालयको प्रमुख बनाइएको भन्दै आलोचना भएको थियो।

प्रहरी प्रधान कार्यालयको आन्तरिक मापदण्डअनुसार प्रदेश प्रहरी कार्यालय वीरगञ्ज ‘ख’ श्रेणीमा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ‘क’ श्रेणीमा पर्छ। सो मापदण्डले एउटा कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेको अधिकारीलाई अर्को प्रमुख पदमा पठाउनुअघि कम्तीमा एक वर्ष अन्य जिम्मेवारीमा काम गरेको हुनुपर्ने व्यवस्था गरेको छ।

तर तत्कालीन निर्णयमा उक्त व्यवस्था बेवास्ता गरिएको भन्दै आलोचना भएपछि गृह मन्त्रालयले सरुवा सच्याएको हो। स्रोतका अनुसार तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको सिफारिसमा कोइरालालाई उपत्यका ट्राफिकमा ल्याउने प्रस्ताव अघि बढाइएको थियो। अहिले भने मन्त्रालयले निर्णय पुनरावलोकन गर्दै कोइरालालाई विशेष ब्युरोमा पठाउने र काफ्लेलाई उपत्यका ट्राफिकको नेतृत्व दिने निर्णय गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै