बीरगन्ज । स्थानीय तहमा विभिन्न पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ । यद्यपी मधेस प्रदेशका सात वटा स्थानमा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना भने सकिएको छ ।
मतगणनाको नतिजाअनुसार प्रदेशका नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टी नेपालले आफ्नो वर्चश्व कायम गरेको छ । अर्थात् नतिजाअनुसार उपचुनावमा नेपाली कांग्रेस र जसपा नेपालले २–२ सिट हात पारेका छन् ।
यस्तै नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने क्रमशः १–१ सिट जितेका छन् ।
कुन पालिकाबाट कसको जित ?
प्रदेशको धनुषा जिल्लास्थित धनुषाधाम नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका सुनिल कापर केवट बिजयी भएका छन् ।
नेकपा माओवादीका केवट ६८४ मत ल्याएर वडाध्यक्ष पदमा बिजयी भएका छन् ।
यस्तै महोत्तरीको रामगोपालपुर नगरपालिका २ भएको उपनिर्वाचनमा एमालेका सकवुल खान विजयी भएका छन् ।
माओवादी केन्द्रका उम्मेदवार आइतीकुमारी यादवलाई ६३१ मतले पछि पार्दै उनी बिजयी भए ।
यता सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दुइ जटा वडामा भएको उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपाल (जसपा) ले जित निकाल्यो । दुुवै वडामा कांग्रेस प्रतिद्धन्द्धीलाई हराउँदै जसपा नेपालले आफ्नो साख जोगाउन सफल भयो ।
जसअन्र्तगत नगरपालिकाको वडा नम्बर १ मा धिरेन्द्र साह तेली तथा वडा नम्बर ४ देवेन्द्रप्रसाद यादवले जित निकालेका छन् ।
धिरेन्द्रले आफ्ना प्रतिद्धन्द्धी कांग्रेसकी भुलिया देवि चौधरीलाई पछि पार्दै जित निकाले । धिरेन्द्रले ६५२ मत ल्याए भने भुलिया ५८७ मत पाइन् ।
सोही नगरपालिकाकै वडा नम्बर ४ मा समेत जसपा नेपालकै उम्मेदवार देवेन्द्रले कांग्रेस उम्मेदवार जोगिन्द्र राय अमातलाई हराए । देवेन्द्रले ३७२ मत पाउँदा जोगिन्द्रले भने २७७ मत मात्र प्राप्त गरे ।
यस्तै रौतहटको तीन नगरपालिकामा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा दुइ स्थानमा कांग्रेस तथा एक स्थानमा नेकपा एकीकृत समाजवादीले जित निकाल्न सफल भयो ।
ईशनाथ नगरपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेसका शेष अब्दुल खलिक ६२७ मतले निर्वाचित भए । उनले ६२७ मत पाए भने उनका निकटम प्रतिद्धन्द्धी एमालेका शेख अनवरले ५७५ मत ल्याए ।
यस्तै गढीमाई नगरपालिका वडा नम्बर ८ मा नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादव ६५५ मतले निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जिउतीदेवी यादवले ६३१ मत ल्याइन् ।
त्यस्तै राजपुर नगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसका उम्मेदवार समसे आलम ७४४ मतले विजयी भए । उनका प्रतिष्पर्धी माओवादी केन्द्रका उम्मेदवारले ४६३ मत पाए ।