सप्तरी । आइतबार सम्पन्न भएको उपनिर्वाचनमा सप्तरीको दुई वटै वडामा जसपा नेपालका उम्मेदवारहरु विजयी भएका छन् ।
प्रमुख निर्वाचन अधिकृत रमेश कुमार जोशीका अनुसार वडा नम्बर १ को अध्यक्षमा जसपा नेपालका धिरेन्द्रकुमार शाह विजयी भएका छन् । उनले कुल खसेको १ हजार ८ सय ४५ मत मध्ये ६ सय ५२ मत ल्याएर बिजय भएका हुन ।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी भुलियादेवी थरूनीले ५ सय ८७ मत ल्याइन् भने नेकपा (एमाले) का उम्मेदवार भगबानी शाहले २ सय ५६ मत ल्याई तेस्रो स्थानमै चित बिझाए। कुल खसेको मत मध्ये ५१ मत बदर समेत भएका छन् ।
त्यस्तै डाक्नेश्वरीकै वडा नम्बर ४ मा जसपाकै देवेन्द्र प्रसाद यादव निर्वाचित भएका छन् । उनले कुल ९ सय ८५ खसेको मतमध्ये ३ सय ७२ मत ल्याई विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जोगिन्द्र राय अमातले २ सय ७७ मत ल्याए।
तेस्रो भएका जनमत पार्टीका उदयनारायण पण्डितले २ सय ३१ र एमालेका सञ्जयकुमार यादवले ६८ मत मात्र प्राप्त गरेका छन् ।यस वडामा १६ मत बदर भए ।
गत स्थानीय तह निर्वाचनमा यी दुवै वडामा नेपाली कांग्रेस निर्वाचित भएको थियो । बिहान साढे ७ बजे सुरु भई बेलुकी ५ बजे सम्म मतदान चलेको थियो ।