ट्रेन्डिङ

धान र चामलको आयात घट्दो

काठमाण्डौँ । नेपालमा धान र चामलको आयात घट्दो छ । विगत तीन वर्षयता धान र चामलको आयात निरन्तर घट्दै गएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार आर्थिक वर्ष ०८०/०८१ मा २२ अर्ब २२ करोड रुपैयाँको धान र चामल आयात भएको छ । यो वर्ष अघिल्लो वर्ष २०७९/०८० को तुलनामा १४ अर्ब ४३ करोड रुपैयाँको कम धान र चामल आयात भएको हो ।

आर्थिक वर्ष २०७९/०८० मा ३६ अर्ब ६५ करोड रुपैयाँको धान र चामल आयात भएको थियो ।

आर्थिक वर्ष २०७८/२०७९ मा ४७ अर्ब ५७ करोड रुपैयाँको धान र चामल आयात भएको थियो । यो वर्षको तुलनामा अघिल्लो आर्थिक वर्ष आर्थिक वर्ष २०७९/०८० मा १० अर्ब ९२ करोड रुपैयाँको धान र चामलको आयात कम भएको विभागको तथ्याङ्क छ ।

यसरी धान र चामल आयातमा गिरावट आउनु विभिन्न पक्ष हुन सक्ने विज्ञ बताउँछन् । तथ्याङ्कमा गडबडी हुन सक्ने, नेपालको उत्पादन वृद्धि, भातमात्रै नखाएर अन्य खाद्यान्न उपभोग बढेको जस्ता कारणले पनि धान र चामल आयात घटेको हुन सक्ने उनीहरूको अनुमान छ ।

यस्तै, वैदेशिक रोजगारी वा अध्ययनका लागि विदेश जाने नेपालीको संख्या बढ्दा पनि खाद्यान्नको आयात घट्ने कृषि जनाकारहरूको भनाई छ ।

आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा धानको क्षेत्रफल घटे पनि उत्पादन भने वृद्धि भएको सरकारी तथ्याङ्क छ ।

आर्थिक २०८०/०८१ मा धानको कुल उत्पादन अघिल्लो आर्थिक वर्षको तुलनामा ४.३३ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन र त्यसको अघिल्लो आर्थिक वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान फलेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै