जनकपुरधाम । मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्युपछि सिरहाको लहानमा आन्दोलन चर्किएको छ ।
मृतक सईका आफन्त र लहानवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । उनीहरुले टायर बालेर राजमार्ग अवरुद्ध पारेपछि अहिले पूर्वपश्चिम राजमार्ग ठप्प भएको छ । राजमार्ग अवरुद्ध भएपछि सयौं सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।
भारतसँग सीमा जोडिएको सिरहाको बरियारपट्टी गाउँपालिका( १ कचनारीमा ड्युटीमा रहेका सईलाई नम्बर नखुलेको स्कार्पियो गाडीले आज बिहान करिब ३ बजे ठक्कर दिएको थियो । गाडीको ठक्करबाट सईको घटनास्थलमै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।
तस्करहरुको गाडी रोक्न खोजेका थिए, तर उल्टै गाडी ठक्कर दिएर भारततर्फ भागेको प्रहरीको भनाई छ ।
मृतक सई यादव बीओपी बरहरीमा कार्यरत थिए । उनीसँगै अन्य चार सशस्त्र प्रहरी पनि ड्युटीमा खटिएका थिए । मृतकको शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको छ । मृतक सईका दाइ नाता पर्ने पाण्डव यादवले प्रहरी प्रशासनकै कमजोरीले घटना घटेको आरोप लगाए ।
प्रदर्शनमा सहभागी उनले भने, ‘मेरो भाइसँगै अन्य चार जना प्रहरी ड्युटीमा थिए, तर गाडीले ठक्कर दिएर भागेपछि उनीहरुले किन गोली चलाएनन् ? यो त चरम लापरबाही हो नि ’’ आन्दोलनमा उत्रिएकाहरुले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, ठक्कर दिनेलाई अविलम्ब पक्राउ गरी कारबाही हुनुपर्ने, मृतकका आफन्तलाई न्याय तथा क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।