बीरगन्ज । बीरगन्जका होटलहरुको अनुगमन गर्दै वर्गीकरण तथा लोगो वितरण कार्य सुरु भएको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरको समन्वयमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग वीरगन्जले यस्तो काम सुरु गरेको हो ।
बिभागका वीरगन्जस्थित खाद्य अनुसन्धान अधिकृत सुरेश कुमार सिंहको नेतृत्वको टोलीले होटलहरुको अनुगमन गर्ने तथा त्यसलाई वर्गाीकरण गर्न थालेको हो ।
सो अवसरमा आज बीरगन्जका १० वटा होटलहरुको अनुगमन गरिएको छ । टोलीले होटलहरुको अनुगमन गर्दै किचन तथा भण्डारण गरि राखिएका खाद्यान्नहरुको चेकजाँच गरेको थियो ।
यस्तै टेस्टो मिटरको सहयोगबाट किचनमा प्रयोग हुने तेलको कोलारिटी समेत जाँच गरिएको जनाइएको छ ।
स्थानीय होटलहरुमा भान्साको सरसफाइ, खाद्यजन्य पदार्थको भण्डारण गर्ने विधि र कोल्डचेन प्रबिधि लगायतको अनुगमन गर्न यो कार्य सुरु गरिएको खाद्य अधिकृत सिंहले बताए । उनका अनुसार अनुगमन टोलीले यी वस्तुहरुको चेकजाँच गर्दै खाद्य स्वच्छता स्तरको आधारमा होटलहरुको स्तर निर्धारण गरि वर्गीकरण कार्य गर्नेछ ।
आज अनुगमन गरिएको होटलहरुमध्ये होटल दियालो लड्र्स, होटल भिस्वा, सरोबर प्रोटिक होटललाई भने खाद्यान्नको स्वस्च्छता एवम् सरसफाईमा ध्यान पु¥याएबापत सर्वोत्कृष्ठ ‘थ्रीस्टार’ प्रमाणीकरण गरी लोगो वितरण गरेको खाद्य अधिकृत सिंहले बताए । उनका अनुसार ती होटलहरुलाई लोगो वितरण गर्नुका साथै नविकरण समेत गरिएको छ ।
यस्तै खाद्य स्वच्छताको आधारमा होटल पुजन, होटल मकालु र अनमोल स्वीट्सलाइ उत्कृष्ट वर्गीकरण गरेर ‘टू स्टार’को लोगो बितरण गरिएको उनले बताए ।
यसैगरी होटल कन्ट्री इन, कैलाश होटल र मेजवान होटललाई भने ‘एक स्टार’ को लोगो तथा डिलाइट गो रेस्टुरेन्टलाई सामन्यको लोगो दिइएको छ ।
डिलाइट गो रेस्टरेन्टलाई केहि सुधारको निर्देशन समेत दिइएको जनाइएको छ ।
लोगो बितरणमा कुनै पनि होटललाइ पक्षपात हुन नहुने र त्यसो नगरिने टोलीले जानकारी दिएको छ । उनीहरुले स्थानीयस्तरका सम्पूर्ण होटलहरुलाई खाद्य स्वच्छता अभियानमा सहभागी भइ उपभोक्तालाई हाइजेनिक फूड उपलब्ध गराउन आग्रह गरेका छन् ।