धनुषा । मधेसका कृषिमन्त्री जनार्दन सिंह क्षेत्रीले प्रदेशमा कृषि क्षेत्रको बिकासका लागि अनुसन्धान अपरिहार्य भएको बताएका छन् ।
राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठानद्वारा धनुषामा आयोजित दुईदिने प्रदेशस्तरीय प्रविधि हस्तान्तरण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री क्षेत्रीले मधेशको कृषि क्षेत्रलाई उकासेर सकारात्मक परिणाम ल्याउन अनुसन्धान अति आवश्यक रहेको औँल्याए ।
अहिले प्रविधिको युग रहेको भन्दै मन्त्री क्षेत्रीले कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउन समेत विशेष रुपले फड्को मार्न सक्ने विश्वास व्यक्त गरे । उनी भन्छन्, ‘प्रदेशमा कृषि क्षेत्रमा फड्को मार्न यसलाई प्रविधिमैत्री बनाउनुपर्छ, त्यसका लागि गहिरो अनुसन्धानको अति खाँचो छ ।’
यस्तै पशुपन्छी विकास तथा मत्स्य विकास निर्देशनालय मधेशका निर्देशक जागेश्वर यादवका अनुसार अनुसन्धानको अभावकै कारण केही प्रदेशका कृषि योजना असफल भएका छन् । मधेशको कृषि क्षेत्रलाई माथि उकास्न आगामी आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गर्ने उनको प्रतिवद्धता छ ।
अनुसन्धानबिना कृषि क्षेत्रको विकास असम्भव हुने उनको दाबी छ । मधेशमा प्रविधिमैत्री र किसानमैत्री कुनै कार्यक्रम नरहेको जनाउँदै उनले तिनै तहको सरकार र कृषि क्षेत्रमा काम गर्ने संस्थाले एकअर्काको संवाहकका रूपमा काम गर्न आवश्यक रहेको बताए ।