जनकपुरधाम । मधेस प्रदेशका साढे ५ लाख भन्दाबढी बालबालिका पोषण भत्ताको लाभग्राही रहेको एक तथ्यांक सार्वजनिक भएको छ । प्रदेशका पाँच लाख ५९ हजार ५७९ जना बालबालिका पोषण भत्ताको लाभग्राही रहेको तथ्यांक सार्वजनिक भएको हो ।
मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयले समाजिक सुरक्षा नागरिक समाज सञ्जालको समन्वय र सेभ द चिल्ड्रेनको सहयोगमा मंगलबार प्रदेश राजधानी जनकपुरधाममा आयोजना गरेको बालपोषण भत्ता एवं अभिभावक सचेतनासम्बन्धी प्रदेशस्तरीय सम्बाद कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको छ ।
मधेस प्रदेशको गृहमन्त्रालयका राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक सानुबाबु अधिकारीले अनुसार प्रदेशमा चार लाख ६६ हजार ६४३ जना अन्य तथा ९२ हजार ९३६ जना दलित गरी जम्मा पाँच लाख ५९ हजार ५७९ बालबालिका पोषण भत्ताको लाभग्राही रहेका बताए ।
कार्यक्रममा बोल्दै वक्ताहरुले मधेश प्रदेशमा जन्मदर्ताको अभावमा पाँच वर्षमुनिका धेरै बालबालिका बाल पोषण भत्ता लिनबाट बञ्चित हुनु पर्ने बाध्यात्मक अवस्था रहेको भन्दै यसलाई सहज बनाइदिन बताउन आग्रह गरे ।
उनीहरुले यूू–५ वर्षका बालबालिका लाई लक्षितगरी राज्यले पोषणका लागि अनुदान दिए पनि शिक्षाको अभावमा केही अभिभावकले बालपोषण भत्ताको सही सदुउपयोग नगरेको पाइएको औल्यांए ।
त्यसको जवाफ दिदैँ निर्देशक अधिकारीले पोषिलो खाना खानका लागि राज्यले पाँच वर्षमुनिको बालबालिकालाई प्रदान गर्दै आएको बाल पोषण भत्तालाई केही अभिभावकले बालबालिकाको पोषिलो खानाका लागि नभई अन्यत्र खर्चिने अवस्थाहरु पनि देखिएकाले बाल पोषण भत्ताको सही सदउपयोगका लागि अभिभावक शिक्षा पनि त्यतिकै आवश्यक भएर अभिभावक सचेतना कार्यक्रम सञ्चालन गरेको प्रस्ट्याए ।
समाजिक सुरक्षा भत्ताहरुको वितरणमा योग्य लाभग्राहीको पहुँच सुनिश्चित हुनुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका प्रशासन शाखा प्रमुख शिवराज सेढाइँले हुँदा खाने वर्गलाई लक्षित गर्ने वा हुने खाने वर्गलाई लक्षित गर्ने विषयमा गम्भीर छलफल गर्नुपर्ने बताए ।