सप्तरी । १७ क्विन्टल लागुु औषध गाँजासहित सप्तरीबाट एक जना पक्राउ परेका छन् । प्रहरीलाई आएको विशेष सूचनाको आधारमा उक्त परिमाणमा लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धनकुटा जिल्ला सहिदभूमी गाउँपालिका वडा नम्बर ३ बस्ने ३३ वर्षका यमजित राई रहेका छन् ।
इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको टोलीले को.१ ख.६५०३ नम्बरको टिपरलाई सप्तरीको राजगढ गाउँपालिका-४ बेल्ही चपेनास्थित भित्री सडकखण्डमा जाँच गरेको थियो ।
पत्थरगाडाबाट झुटकीतर्फ जाँदै गरेको उक्त टिपरमा भारी परिमाणमा लागू औषध गाँजा लोड गरि ल्याउँदै गरेको सूचनाको आधारमा जाँच गरेको सप्तरीका डिएसपी जितन्द्रे कुमार बस्नेतले जनाए ।
सोही क्रममा डुङ्गा र वालुवाले छोपेर टिपरमा लोड गरि ल्याउदै गरेको अवस्थामा १७ क्विन्टल १७ किलोग्राम बराबरको ५६ बोरा गाँजा पक्राउ गरेको उनले बताए ।
नियन्त्रणमा लिइएको गाँजासहित चालक तथा टिपरमाथि आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।