
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले ५ दिनको म्याद दिदै न्यायीक हिरासतमा राख्न इजाजत दिएको छ ।
मंगलवार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई यस अघि प्रहरीले स्वास्थ्य जाँचका लागि बी अस्पताल पुर्याएको थियो ।
प्रहरीले पहिले स्वास्थ्य चेकजाँच पछि थप अनुसन्धानकालागि म्याद थप अदालत लगेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा प्रसाई मंगलवार विहान पक्राउ परेका हुन् । प्रसाईंलाई किर्ते कागज र साइवर अपराधमा मुद्धा चलाउने तयारी छ ।
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको अपुष्ट प्रमाण प्रसाईंले सार्वजनिक गरेका थिए।
प्रसाईंमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्ने प्रहरीको भनाइ छ।
उक्त दफामा विद्युतीय स्वरूप गैरकानुनी कुरा प्रकाशन गर्नेसम्बन्धी प्रावधान उल्लेख छ। उक्त कसुरअनुसार एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने उल्लेख छ।
प्रहरीको प्रारम्भिक जाँचका क्रममा ती कागजातहरु कीर्ते गरेर तयार पारिएको देखिएको छ । गलत विवरणका भरमा प्रधानमन्त्रीमाथि गम्भीर आक्षेप लगाएपछि उनी अनुसन्धानको दायरामा परेका थिए ।