बीरगन्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकामा बाघको आक्रमणबाट १० वटा बाख्राको ज्यान गएको छ ।
गाउँपालिकाको वडा नम्बर २ थर्घट्टीमा बाघको आक्रमणबाट १० वटा बाख्राको ज्यान गएको हो ।
सोमबार दिँउसो पर्सा राष्ट्रिय निकुञ्जबाट आएको बाघले आक्रमण गर्दा एकैचोटी १० वटा बाख्राको ज्यान लिएको पर्सा प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक मोहनजंग बुढाथापाका अनुसार स्थानीय सत्यनारायण झाँगर र थमक महतो उराँउले साझेदारी वन क्षेत्रस्थित घर नजिकैको जंगलमा बाख्रा चराउन लगेका थिए ।
सोही क्रममा अचानक जंगलबाट निस्किएको बाघले चरिरहेका बाख्राहरुमाथि आक्रमण गरेको उनले बताए ।
बाघले ८ वटा बाख्राको घाँटीमा टोकेर ज्यान लिएको हो । भने थप दुईवटा बाख्रालाइ लिएर जंगल पसेको प्रहरी निरिक्षक बुढाथापाले जानकारी दिए ।
बाघले कोही पनि मानिसलाइ भने आक्रमण गरेको छैन । डिभिजन वन कार्यालय तथा नेपाल प्रहरीको सहयोगमा बाघलाइ भगाइएको पर्सा प्रहरीले जनाएको छ ।
यसैबिच दिँउसै बाघले जनावरलाइ आक्रमण गरेपछि सावधानी अपनाउन वन कार्यालयहरुले सर्वसाधारणमा आग्रह गरिएको छ ।
त्यस क्षेत्र आसपास बसोबास गर्नेहरुलाइ घाँस दाउरा गर्न जाँदा तथा रातको समयमा घस बाहिर निस्किँदा सावधानी अपनाउन डिभिजन वन कार्यालय पर्सा प्रमुख मन्जुर अहम्मदले अनुरोध गरेका छन् ।