काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागले धरहरा भ्रमण सशुल्क बनाउने तयारी गरेको छ । दुई महिनाअघि केही समयका लागि निःशुल्क चढ्न पाउने गरी धरहरा खोलिएको थियो ।
कर्मचारीलाई तलब दिन नसक्ने अवस्था आएको भन्दै विभागले जतिसक्दो चाडो शुल्क उठाउने तयारी गरेको हो । शहरी विकास मन्त्रालयले टेन्डरबाट कुनै निजी कम्पनीलाई दिने गरी धरहरा सञ्चालन र व्यवस्थापनसम्बन्धी कार्यविधिको मस्यौदा गत असोजमै मन्त्रिपरिषद्मा पेश गरेको थियो । तर हालसम्म मन्त्रिपरिषद्बाट प्रस्ताव स्वीकृत नभएको विभागले जनाएको छ ।
विभागले मंसिर ७ गतेबाट लागू हुने गरी शुल्कसहितको प्रस्ताव मन्त्रालयमा पठाएको विभागका एक अधिकारीले बताए । तत्कालका लागि न्युनतम २०० रुपैया शुल्क तोक्ने प्रस्ताव मन्त्रालयमा पठाइएको उनको भनाइ छ ।