ट्रेन्डिङ

उपनिर्वाचन : मधेस प्रदेशभरबाट १०३ जनाको उम्मेदवारी

जनकपुरधाम । यही मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि मधेस प्रदेशमा १०३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशका सप्तरी, धनुषा, महोत्तरी र रौतहट गरी सात स्थान अन्तर्गतका पालिकाको विभिन्न वडामा हुन लागेको निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र गरी १०३ जनाले उम्मेवारी दर्ता गराएका हुन् ।

जसअनुसार डाक्नेश्वरी नगरपालिकाको दुई वटा वडामा हुने निर्वाचनमा १७, धनुषाको धनुषाधाम नगरपालिकाको वडाका लागि २१, महोत्तरीको रामगोपालपुर नगरपालिकाको वडा निर्वाचनका लागि २० र रौतहटको तीनवटा पालिकाको वडामा हुने निर्वाचनमा ४५ जना गरी कुल १०३ जनाले उम्मेदवारी दर्ता गराएका जनाइएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र वडा नम्बर ४ हुने निर्वाचनका लागि १७ जनाले मनोनयन दर्ता गराएका निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

डाक्नेश्वरी– १ मा एक स्वतन्त्रसहित ९ जना र वडा नम्बर ४ मा ८ जनाले उम्मेदवारी दर्ता गराएक सहायक निर्वाचन अधिकृत गंगाकुमार मिश्रले जानकारी दिए ।

त्यस्तै धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ मा हुने निर्वाचनमा २१ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।धनुषाधाममा १२ वटा राजनीतिक दलले उम्मेदवारी दिएका छन् भने ९ जनाले स्वतन्त्र रुपमा उम्मेवारी दर्ता गराएका हुन् ।

नेकपा माओवादी केन्द्रबाट सुनिल कापर केवट, नेपाली कांग्रेसबाट अशोक कुमार मण्डल, नेकपा एमालेबाट प्रमोद यादव, जसपा नेपालबाट अजय कुमार यादव, जसपा अशोक राई समूहबाट अरुण सादा, जनमत पार्टीबाट कुशेश्वर मण्डल, नेकपा एकीकृत समाजवादीबाट गोपाल साह सुडी, बहुजन एकता पार्टी नेपालबाट प्रमिला कुमारी सदा, राप्रपा नेपालबाट फौदार सादा मुसहर, रास्वपाबाट रामनरेश दास, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामदेव सिंह दनुवार र राजपा नेपालबाट लक्ष्मीनियाँ देवीले उम्मेदवारी दिएकी छन् ।

त्यस्तै महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा हुन लागेको निर्वाचनमा २० जनाले उम्मेदवारी दिएका छन् ।

सो वडामा ८ वटा राजनीतिक दलबाट उम्मेदवारी दिएका छन् भने १२ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

जसमध्ये नेकपा माओवादी केन्द्रबाट आइतीकुमारी यादव, नेपाली कांग्रेसबाट मोहम्मद जनिफ खाँ, रास्वपाबाट सुरमैद खाँ, एमालेबाट सकिवुल खाँ, राप्रपाबाट मो. मनान खाँ, जसपा नेपालबाट मो. नजामुद्दिन खान, राजपा नेपालबाट राजेश कुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै रौतहटको विभिन्न पालिकाको वडामा हुने निर्वाचनमा ४५ जनाले उम्मेदवारी दिएका छन् । राजपुर नगरपालिका वडा नम्बर ६ मा १४, इशनाथ नगरपालिका वडा नम्बर ७ मा १५ र गढीमाई नगरपालिका वडा नम्बर ८ को वडाअध्यक्षका लागि १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै गढीमाई नगरपालिका वडा नम्बर ८ नेकपा एमालेको तर्फबाट जीउती देवी यादव, नेकपा एसबाट बजरंगी प्रसाद यादव, नेपाली कांग्रेसबाट सुवोध कुमार यादव, जसपा नेपालबाट संदेश प्रसाद यादव,  राष्ट्रिय मातृभूमि पार्टीबाट साहेवलाल राउत, जनमत पार्टीबाट सुरेश राउत कुर्मीले दर्ता गराएको वडा निर्वाचन अधिकृतसमेत रहेका न्यायाधिवक्ता मुम्मद मुन्नाले जानकारी दिए ।

त्यस्तै इशनाथ नगरपालिका वडा नम्बर ७ मा कांग्रेसबाट शेख अब्दुल खालिक, नेकपा माओवादी केन्द्रबाट शेख अमिरुल, जनमत पार्टीबाट शेख जमिरुल हक, जसपा नेपालबाट शेख अब्दुर अहद, नेकपा एमालेबाट शेख अनवार, राप्रपाका मदन साह, नेकपा एसबाट सदरे आलमले दर्ता गराएका छन् ।

राजपुर नगरपालिका वडा नम्बर ६ मा जनमत पार्टीका क्यामुदिन धुनिया, नेकपा माओवादी केन्द्रबाट जिकरुलाह, नेकपा एमालेबाट मो. नसिम अख्तर, नेपाली कांग्रेसबाट समसे आलम, राप्रपाबाट रामनारायण प्रसाद जयसवाललगायतले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतसमेत रहेका रौतहट जिल्ला अदालतका मुख्य न्यायाधिश मनोज केसीले जानकारी दिए ।

भोली बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने र सोही दिन सोमबार दिउँसो ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने प्रदेश निर्वाचनको कार्यालय मधेश प्रदेशले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै