काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा उम्मेदवार बन्ने तयारी गरेकी सुजाता थापालाई डर धम्की दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ ।
कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आयोगसमक्ष लिखित रूपमा निवेदन दिँदै उक्त कार्यमा संलगन्हरूलाई कारवाहीको माग गरेका छन् ।
आयोगसमक्ष दिइएको उजुरीमा सुजाता र उनको श्रीमान बल थापालाई ४०(५० जना युवाहरुको समूहले घरबाट लछारपछार गर्दै लगिएको र उक्त कार्यमा कांग्रेसका कार्यकर्ता संलग्न रहेको दाबी गरिएको छ ।
यस्तै मधेश प्रदेशमा पनि उम्मेदवारी दिने तयारीमा रहेका आफ्ना कार्यकर्ता र परिवारलाई डरधम्की देखाइएको रास्वपाले बताएको छ ।
‘लोकतन्त्रको महत्वपूर्ण पक्ष स्थानीय तह उपनिर्वाचनमा पहिलोपटक सहभागी हुन लागेको संसदको चौथो ठूलो राजनीतिक दलप्रति भएको निकृष्ठ अलोकतान्त्रिक क्रियाकलापप्रति सम्मानित निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछौं । यस घटनाले हामीलाई साह्रै दुःखी बनाएको त छ नै । साथै निर्वाचन प्रक्रियाप्रति नै आम जनमानसमा अविश्वास र त्रास समेत सिर्जना गरेको छ’, रास्वपाले भनेको छ ।