बीरगन्ज । मुख्यमन्त्री कार्यालयको प्रत्यक्ष निगरानीमा सुरु गरिएको पोखरी सौन्दर्यीकारणको यो परियोजना हालसम्म अलपत्र छ । आर्थिक वर्ष २०७५/०७६ मा नगवा पोखरीका सौन्दर्यकरणका लागि ठेक्का सकार भएको थियो । ५ वर्षको ठेक्का अवधि सकिन लाग्दा समेत सन्तोष जनक काम नभएको भन्दै स्थानीय नागरिक आक्रोशीत बनेका छन् ।
बीरगन्ज महानगरपालिका वडा नम्बर १६ मा रहेको नगवा पोखरीको सौन्दर्यीकरणको काम समयमा पुरा नहुदाँ सर्वसाधारण आक्रोशित बनेका हुन् । मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीले ५ बर्ष अगाडि अर्थात २०७४ साल फागुन ३ को चुनाव जिते संगै पोखरी सौन्दर्यीकरणको परियोजना सुरु गरेका थिए । १० करोड १ लाख ३० हजार ६ सया ९ रुपैँयामा एम एस प्रेरा, रन्जन जेबी ललितपुरले ठेक्का सकार गरेको थियो ।
निर्माणको काम पूर्व मुख्यमन्त्रीकै विश्वासिलो पात्र एवम् पार्टीका प्रदेश सभासद सिगांसन साह कलवारले पाए । २०७६ साल बैशाख २३ गते पोखरी निमार्णको सम्झौता भई काम सुरु भएको थियो । पूर्व मुख्यमन्त्रीले पोखरीको सौन्दर्यीकारण गर्दा नगवावासी भने खुसी भएका थिए । तर ५ वर्ष भईसक्दा पनि पोखरी निमार्णको कार्य भने ७० प्रतिशत मात्र भएको छ । जे जती बनाईएको संरचनापनि ध्वस्त भएको छ । निर्वाचन अगावै गद्दीले नगवामा ठूलो परिवर्तन ल्याउने घोषणा गरेका थिए ।
उनी २०७४ साल फागुन ३ गतेको निर्वाचमा सबै भन्दा बढि मत बीरगन्ज महानगरपालिकाको वडा नं १६ नगवाबाट पाएका थिए । पोखरीको अवस्था लथालिगं भएको कारण छठ पुजामा कठिन भएको स्थानीयहरुको भनाई छ । छठ पर्वको बेला महानगरपालिकाले पोखरीको सरसफाई र भासिएिको ठाँउमा माटो पुर्ने काम मात्र भएको स्थानीय रोशन कुमारले बताए । ५ वर्ष देखि पोखरीको अवस्था यस्तै छ, सरसफाई मात्र हुन्छ, तर यस वर्ष पनि हामीलाई निरासा नै बनाइयो , पहिले छठ पुजा गर्दा राम्रो लाग्ने गरेको कुमारले बताए ।
चारै तिरबाट खुला र सफा हुने गरेको पोखरी अहिले जिर्ण हुदै गएको अर्का स्थानीय सुरेन साहले बताए । ‘बीरगन्ज महानगरपालिका वडा नं १६ मा पर्ने ऐतिहासिक नगवा पोखरीको अवस्था किन यस्तो बनाईएको हो ? छठको समयमा खानेपानी मन्त्री प्रदिप यादवले यस पोखरीको अवलोकन गरेर गए ।
अहिले नेता वा मन्त्रीहरुले समेत आउने अवलोकन गर्ने, आश्वासन दिने अनि फर्किने मात्र गरेका छन्,’ उनले भने । लथालिङ्ग अवस्थामा पुगेको पोखरीमा कुनै सरकारले ध्यान नदिएको कारण यस्तो भएको उनको आरोप छ ।
मधेश प्रदेशका पूर्वाधार विकास कार्यालयका प्रवक्ता संतोष कुमार यादवका अनुसार मुख्यमन्त्री कार्यालयले प्रत्यक्ष निगरानी राखेको तर पछिलो समय यसको देखरेख जिल्ला पठाईएको बताए । ‘सुरुमा पोखरी सौन्दर्यीकरणको योजना मुख्यमन्त्रीको कार्यालयले नै हेर्ने गरेको थियो तर पछिलो समय हामीले सबै फाईलहरु जिल्लामा पठाएको छौँ,’ यादवले भने ।