विवाहपञ्चमीमा जन्तीका लागि जनकपुरधामबाट निम्तो पठाइयो

जनकपुरधाम १ ।विवाहपञ्चमी महोत्सवमा सीताको ससुराली भारतको अयोध्यामा जन्तीलाई निम्तो दिनका लागि जनकपुरधामबाट विश्व हिन्दुपरिषद्को अगुवाइमा तिलकसहित निमन्त्रणापत्र लिएर पठाइएको छ ।

भगवान् सीतारामको विवाहलाई लिएर ५ सयको संख्यामा तिलक र अयोध्याबाट आउने जन्तीका लागि निमन्त्रण पत्रसहित अयोध्याका लागि आज प्रस्थान गरेका छन् ।

तिलक लिएर जाने टोलीलाई मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिदाइ गरेका छन् । मुख्यमन्त्री सिंह मङ्सिर २ गते वीरगञ्जमा यही टोलीमा सहभागी भएर त्यहाँबाट तिलकसहित अयोध्या जाने कार्यक्रम छ ।

तिलक लिएर जाने समूह २ गते नै अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र सिंह पंकजको अगुवाइमा राम मन्दिर ट्रस्टका चम्पत रायलाई हस्तान्तरण गरिनेछ ।

मुख्यमन्त्री सिंहले तिलक उत्सव भव्यताका साथ सम्पन्न हुनेमा विश्वस्त रहेको बताएका छन् ।

प्रत्येक पाँच वर्षमा अयोध्याबाट जन्ती आउने र त्यसका लागि मधेश प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए। त्रेता युगदेखि कायम सम्बन्धलाई निरन्तरता दिनुपर्नेमा उनको जोड थियो ।

जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले नेपाल र भारतबिचको प्राचीन सम्बन्ध रहेको र यो सम्बन्ध कहिल्यै कमजोर हुनु नहुने बताए ।

जानकी मन्दिरले पहिलोपटक परम्परालाई भंग गर्दै विश्व हिन्दू परिषद्को अगुवाईमा तिलक पठाएको छ । विगतमा ठाकुर हजामले तिलकसहित निमन्त्रणा लिएर अयोध्या जाने परम्परा थियो ।

विवाहपञ्चमी यही मंसिर २१ गते जनकपुरधाममा प्रत्येक वर्ष झैँ यसपटक पनि धुमधामसाथ सात दिवसीय कार्यक्रम गरी मनाइने छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै