सिरहा । सिरहाको मिर्चैैया नगरपालिका वडा नम्बर ७ स्थित चुनिया खोलामा पानी सुक्दै गएको छ । चिसो मौसम सुरु भन्दा अघि नै खोलाको पानी सुक्दै गएपछि स्थानीय निराह बनेका छन् ।
खोलाको पानी सुक्दै जाँदा त्यहाँ बस्ने २६ घरपरिवार अर्थात् सिंगो गाउँ नै पिरमा छ ।
स्थानीय चमेली सदायले खोलाको पानी सुक्दै जाँदा दैनिकी कसरी चलाउने भन्ने चिन्ताले सताएको बताइन् । उनी भन्छिन्, ‘चुनिया खोलामा अहिले हिउँदयाम सुरु हुन नपाउँदै पानी सुक्न थाल्यो ।
हाम्रो दैनिकी यहि खोलाबाट चल्ने गरेको छ । गाईबस्तुलाई खुवाउने पानीको लागि त्यही खोलामा रसाइरहेको पानीमा आश्रित छौँ । दैनिक १०÷१५ गाग्री पानी घरका लागि आवश्यक पर्दा त्यहिबाट ओसार्ने गरेका छौँ ।’
सिङ्गो हिउँद समय कसरी पानीको समस्या टार्ने जनाउँदै उनले चिन्ता व्यक्त गरेकी छन् । उनले अब एक÷दुई दिनमा खोलाबाट गाग्रो भर्नै समस्या हुने अनुमान गरिन् ।
चुरेको फेदमा अवस्थित यो गाउँ सुख्खा क्षेत्र भएकोले बर्सेनि खानेपानीको हाहाकार हुने स्थानीयवासी खड्गबहादुर विश्वकर्मा बताउँछन् ।
हिउँद समयमा अधिकांश चुरे क्षेत्रका पानीका स्रोत सुक्ने भएकाले दुई घण्टाको बाटो दक्षिणतर्फ धाएर फूलबारियाबाट पानी ओसार्नुपर्ने नियती उनले सुनाए ।
दुई दशकदेखि खोरिया गाउँमा बस्दै आउनुभएका विश्वकर्माका अनुसार अहिलेसम्म गाउँमा खानेपानी, विद्युत् र सडकसमेत विस्तार भएको छैन । चुनावताका विकासका आश्वासन पाउने गरेपनि सधैँभरी गरिबी, अभाव र पीडामा जिन्दगी चलिरहेको उनको भनाइ छ ।
खोरियागाउँमा पानीको समस्या बारेमा मिर्चैया नगरपालिका बेखबर छैन । गत आर्थिक वर्ष दुई किलोमिटर दक्षिणतर्फ रहेको मौरहामा मधेश प्रदेश सरकारको स्रोतबाट ‘डिपबोरिङ’ गाड्ने भनी अध्ययनसमेत भइसकेको मिर्चैया ७ का वडाध्यक्ष रामदयाल ठाकुर बराहीले जनाए । चालु आर्थिक वर्षमा त्यो योजना पूरा गर्नेगरी यस भेगमा अभाव हुने खानेपानीको समस्या समाधान गर्न आँफु लागिपर्ने उनको प्रतिवद्धता छ ।