वीरगन्ज । पर्सासहित तराई मधेसमा शुक्रबार बिहानैदेखि बाक्लो हुस्सुलागेसँगै चिसो सुरु भएको छ । दुइ दिनदेखि मौसममा आएको परिवर्तनसँगै सुरु महसुस भएको हो ।
बिहानैदेखि हुस्सु र कुहिरोले चिसो बढाएकाले चिसोबाट बँच्न चिकित्सकहरुले आग्रह गरेका छन् ।
देशका अधिकांश भूभागमा तापक्रम क्रमश घट्दै गइरहेको छ । हाल देशको पहाडि भूभागका थोरै स्थानहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम समान्यतया सफा रहने देखिएको छ ।
चिसोपना बढ्न सक्ने भएकाले चिसोबाट बच्ने उपायहरु अपनाउन चिकित्सकको सुझाव छ ।
सडकमा बाक्लो हुस्सु र कुहिरो लागेपछि सडकमा हिँड्न र सवारी चलाउन समस्या हुन थालेको चालक सदानन्द यादवले बताए । आजभोलि दिउँसो राम्रोसँग घाम नलाग्ने हुँदा चिसोबाट बच्ने उपाय अपनाउन ट्राफिक प्रहरीको आग्रह छ ।
चिसो मौसम सुरु भएसँगै गरिब, दलितको जनजीवन बढी प्रभावित हुने गरेको छ । चिसो छल्न अर्थात् चिसोबाट बच्ँनका लागि उनीहरुले स्थानीय तहहरुबाट राहतका सामग्रीको वितरणको आश गरेका छन् ।
खासगरी डोम, मुसहर र दलित वर्गलगायतका बस्तीमा शितलहरले वृद्धवृद्धा, बालबालिका तथा महिलालाई समस्या हुने गर्दछ ।
पर्सासहित तराई मधेसमा चिसो बढ्दै गएर शीतलहर चल्ने भएकाले कमजोर आर्थिक स्रोतका जनता अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहने उनीहरुको गुनासो छ ।