
धनुषा । धनुषा प्रहरीले हुण्डीको रकमसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जनकपुर उपमहानगरपालिका वडा नं.१२ कवारामपुरबाट हुण्डीको रकमसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला मधुवनी चाना हरलाखी ग्राम पञ्चायत हरलाखी–८ का बिष्णु देव यादव, जनकपुर–४ बस्ने रमेश भन्ने रञ्जित कुमार यादव र धनौजी–७ भररिया टोल बस्ने रवि पासवान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज १२ प ६४३ नम्बर मोटरसाइकल शंका लागि जाँच गरेको थियो । सोही क्रममा विष्णु देव यादवले शरिरको विभिन्न भागमा रबरले च्यापेर लुकाइछिपाई राखेको अवस्थामा स्रोत नखुलेको रकम बरामद गरेको हो ।
उनको साथबाट प्रहरीले स्रोत नखुलेको १९ लाख रुपैँया बरामद गरेको प्रहरी नायब उपरीक्षक वरुण बहादुर सिंहले जनाए । विष्णुदेवलाई पक्राउ गरी आवश्यक अनुसन्धान गर्दा थप दुइ जनाको नाम खुलेकोले उनीहरुसमेतलाई नियन्त्रणमा लिइएको डिएसपी सिंहले बताए ।
पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी बताउँछ ।