वीरगञ्ज महानगरको आत्मरक्षा तालिमको विरोध र आलोचना, कसले के भने ?

वीरगन्ज ।  वीरगन्ज महानगरपालिकाले गरेको आत्मरक्षासम्बन्धी एक दिने तालिमको सामाजिक सञ्जालमा विरोध सुरु भएको छ ।

तालिम नगरप्रमुख राजेशमान सिंहको स्टण्ट बजेट सिध्याउने बहाना भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । उक्त तालिमले छात्राहरूलाई कुनै सहयोग नभएको भन्दै नगरप्रमुख सिंहको विरोध गरिदैँछ ।

नगरप्रमुख सिंहले आत्मरक्षा तालिमको नाममा नगरबासीलाई भेडा बनाएको, हजारौँजनाबीच एक दिनमा बच्चाले के सिक्छन् ?, आत्मरक्षा जस्तो संवेदनशील विषयलाई मजाक बनाएएको लगायत भनाइ अहिले सामाजिक सञ्जालमा भरिएका छन् ।

महानगरले बुधबार बालिका, किशोरी तथा महिलाहरुका लागि आत्मरक्षा कार्यक्रम गरेको थियो । जसमा नगरक्षेत्रभरबाट १३ हजार ९ सय ८३ जना छोरी सहभागी थिए ।

उनीहरूलाई भारतका ख्यातिप्राप्त मार्शलआर्ट डाक्टर चिता यजनेश शेट्टीले तालिम दिएका थिए ।

पठनपाठन प्रभावित

महानगरले गरेको एक दिनको तालिमका कारण नगरक्षेत्रका विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।

अभिभावक संघ पर्साका अध्यक्ष सन्दीप साहले नगरप्रमुख सिंहको स्टण्टका क्रममा बालबालिकको पठनपाठनलाई खेलवाड गरेको बताए । उनले तालिमका लागि महानगरले नगरभित्रका सबै निजी तथा सरकारी विद्यालयको पठनपाठन प्रभावित गरेको आरोप लगाए ।

उनी भन्छन्, ‘एक दिनको तालिमबाट छात्राहरूमा खासै असर पर्ने जस्तो लाग्दैन । यो त केबल नगरप्रमुख सिंहको स्टण्टबाजी मात्रै हो ।’

आत्मरक्षा तालिम स्थानीय मार्शलआर्ट गुरुबाटसमेत प्रशिक्षण गर्न सक्ने भन्दै उनले भारतबाट प्रशिक्षक बोलाउनु ठिक नभएको बताए । स्थानीय प्रशिक्षकहरूलाई उपेक्षा गरिएकोमा उनको आपत्ति छ ।

के भन्छन् अभिभावक ?

महानगरको यो कदम सकारात्मक भएको अभिभावकहरू बताउँछन् । तर एक दिन मात्रै तालिम गर्दा उपलब्धि नहुने उनीहरू बताउँछन् ।

अभिभावक मनिष मिश्रले महानगरको यो कामको सराहना गरे । तर उनले यसलाई नियमित गर्न आग्रह गरेका छन् ।

एक दिनका लागि यस्ता तालिम आयोजना गरिदाँ हाँसोको पात्र मात्रै हुने उनले बताए । उनी भन्छन्, ‘यस्ता तालिम हरेक विद्यालयमा गरिनुपर्छ । यदि बालिकालाई साँच्चै आत्मबल बढाउन र सेल्फ डिफेन्स सिकाउने हो भने एकदिनले केही मिल्दैन । बच्चाहरूले एक दिनमा सिकेको कुरा बिर्सिन सक्छन्, तसर्थ यस्ता तालिमलाई नियमित गरे राम्रो हुन्थ्यो ।’

उनका अनुसार हिजो रमाइलोका लागि मात्र छात्राहरू पुगेका थिए । उनीहरूलाई आत्मरक्षा तालिमबारे केही थाहा नभएको मिश्रले बताए ।

के भन्छ महानगरपालिका ?

नगरक्षेत्रका छोरीहरूलाई आफ्नो रक्षा गर्न, आत्मबल बढाउन मद्दत मिलोस् भनेर कार्यक्रम गरिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

नगरप्रमुख सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले हरेक कदममा छोरीले हिंसालाई आफैंले प्रतिकार गर्न सिकुन् भन्ने उद्देश्यले यो कदम चालेको बताए ।

महानगरपालिकाको ‘बालिका, किशोरी तथा महिलाहरुलाई आत्मरक्षा कार्यक्रम’ बारे सामाजिक सञ्जालमा विरोध भएको छ नि ? भन्ने प्रश्नमा उनले भने, ‘कसैले राम्रो काम गर्दा खुट्टा तान्ने हुन्छन् । तर हामीमा यसमा स्वार्थ छैन । समाजमा बढ्दो हिंसाप्रति नगरक्षेत्रका छोरी आफैंले पनि छुट्टाउन सकुन्, त्यसको प्रतिकार गरुन् भन्ने मात्रै हाम्रो चाहना हो । त्यसबाहेक नगरपालिकाले कुनै स्वार्थ लिएको छैन ।’

‘राष्ट्रपतिदेखि प्रधानमन्त्री तथा स्थानीय सरकारहरू समेतलाई गालीगलौज र टीकाटिप्पणी गर्ने समाजको पछि हामी लाग्दैनौँ । हामी राम्रो काममा बढेका हौँ । हामीले नगरक्षेत्रका छोरीका लागि सोचेका हौँ, आलोचना गर्छन् भने त्यसको पछि लाग्दैनौँ,’ उनले भने ।

महानगरले बुधबार आर्दशनगर रंगशालामा बालिका, किशोरी तथा महिलाका लागि एकदिने आत्मरक्षा कार्यक्रम गरेको थियो ।

जहाँ छोरीहरुलाई कसैले कपाल, हात वा शरीरका अंग समाते कसरी फुत्कने रु पछाडिबाट अंगालो हाले कसरी छुटकारा पाउने रु संवेदनशील अंग समाते कसरी छुटाउने रु कतै लैजान थाले कसरी छुटकारा पाउने रु जस्ता तरिका सिकाइएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै