वीरगन्ज । मधेस सरकारका मुख्यमन्त्री सतिस सिंहले नारायणी क्रिकेट मैदानको अवलोकन तथा निरिक्षण गरेका छन् । बुधबार मुख्यमन्त्री सिंहले वीरगन्जस्थित नारायणी क्रिकेट मैदानको अवलोकन तथा निरिक्षण गरेका हुन् ।
क्रिकेट मैदानको निरीक्षण गर्दै मुख्यमन्त्री सिंहले यसको संरक्षण गर्नु आवश्यक भएको औल्यांए । वीरगन्जको यहि मैदानले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय लेभलका खेलाडीहरु उत्पादन गरेकोले यसको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए ।
उनी भन्छन्, ‘नारायणी क्रिकेट मैदान देशकै ऐतिहासिक महत्वको विषय हो । संरक्षणको अभावमा यो दिनानुदिन जीर्ण बन्दैछ । यसै मैदानले नेशनल तथा इन्टरनेशनल लेभलका खेलाडीहरु जन्मायो, तर यसको संरक्षण हुन सकेको छैन ।’
मुख्यमन्त्री सिंहले नारायणी क्रिकेट मैदानको संरक्षण र प्रबद्र्धन गर्नका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनका अनुसार यो मैदानको संरक्षण तथा सम्बद्र्धन गर्न प्रदेश सरकार गम्भिर छ ।
आफूले निरन्तर रुपमा संघ सरकारका खेलकुद मन्त्रीसँग यसबारे ध्यानाकर्षण गराउँदै समस्या समाधानका लागि समन्वय तथा छलफल गरिरहेको उनको भनाइ छ ।
सरकारले समेत चालु आर्थिक वर्षमा बजेट बिनियोजन नभएकोमा दुःख व्यक्त गर्दै उनले सहयोग गर्ने दातृ निकाय तथा संघ संस्थासँग पनि खोजी र समन्वय भइरहेको बताए ।
उनका अनुसार प्रदेश सरकारले पनि क्रिकेट खेल मैदानका लागि केही बजेट बिनियोजन गरेको छ ।
नारायणी क्रिकेट मैदानको वर्षाैदेखि अल्झिएको मुआब्जाको विषयलाई पनि आफ्नै कार्यकालमा समाधान गर्न पहल गर्ने उनको प्रतिबद्धता छ । राज्यले खेलकुद क्षेत्रलाई उपेक्षा गरेको स्विकार गर्दै खेलाडीको प्रोत्साहन र खेल क्षेत्रमा आकर्षण बढाउनेतर्फ प्रदेश सरकार अघि बढेको उनको भनाइ छ।
प्रदेश सरकारको उपलब्ध स्रोत साधन तथा बजेटमार्फत नारायणी क्रिकेट मैदानको व्यवस्थापनका लागि काम गरिने उनले बताए । त्यसका लागि हाल थोरै बजेट रहेको भन्दै मुख्यमन्त्री सिंहले आगामी दिनमा थप बजेट माग गर्ने बताए ।