वीरगन्ज । मधेसमा चाँडपर्वमा दुर्घटना हुनेको ग्राफ उकालो लाग्दो छ । दशैं–तिहार–छठ पर्वको अवधिमा मधेस प्रदेशमा मात्रै सवारी दुर्घटनामा परी मधेस प्रदेशमा २० जनाको मृत्यु भएको छ ।
यसवर्षको फूलपातीदेखि छठपर्वसम्म प्रदेशका ८ वटै जिल्लामा भएका सवारी दुर्घटनामा परी २० जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ ।
प्रहरीका अनुसार दशैंको फूलपातीदेखि छठसम्मको अवधिमा २८१ वटा दुर्घटना भएका छन् । उक्त अवधिमा २ बालबालिकासहित २० जनाको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराले जनाएको छ ।
दुर्घटनामा एक बालक, एक बालिका, एक महिला तथा १७ जना पुरुषको मृत्यु भएको ट्राफिक प्रहरी पथलैयाका प्रमुख भिमकिरण बोगटीले जनाए ।
यसैगरी दुर्घटनामा ९३ जना गम्भीर घाइते र ४४१ जना सामान्य घाइते भएका उनले बताए । यो दुइवटै गरेर प्रदेशमा ५३४ जना घाइते भएको प्रहरी तथ्यांक छ ।
दसैंको फूलपातीदेखि दशमीसम्मको अवधिमा मात्रै १०५ वटा सवारी दुर्घटना भएका थिए भने ९ जनाको मृत्यु भएको थियो । यस्तै ३९ जना गम्भीर तथा १५३ जना सामान्य घाइते भएको रेकर्ड छ ।
तिहारदेखि छठ पर्वको अवधिमा त्यो भन्दा बढी सवारी दुर्घटनामा परेको बोगटीले बताए । यो अवधिमा १०६ वटा सवारीसाधन दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो ।
यस्तै ५४ जना गम्भीर र २ सय ८८ जना सामान्य घाइते भएका प्रहरीको रेकर्ड छ ।
जिल्लागत रूपमा सबैभन्दा बढी बारामा दुर्घटनाहरू भएको उनले बताए । बारामा मात्र यो तीन वटा चाडपर्वमा ४८ वटा सवारी दुर्घटनामा परेका छन् ।
त्यसपछि सप्तरी ३९, धनुषा र सर्लाही क्रमशः ३८/३८, पर्सा ३६ वटा सवारी दुर्घटनामा परेका छन् ।
यसैगरी महोत्तरी र सिरहामा क्रमशः २८/२८ तथा रौतहटमा २६ वटा सवारी दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।
चाडपर्वको अवधिमा सवारी साधनको चाप बढी हुने, तीव्र गतिमा सवारी चलाउने, यात्रु क्षमता दोब्बर हुने तथा ट्राफिक नियमको पालना नगर्नु लगायतका कारण दुर्घटनाहरू बढ्ने गरेको प्रहरीले जनाएको छ ।