सामाचकेवा सामाजिक एकता बलियो बनाउने पर्व हो : मुख्यमन्त्री सिंह

धनुषा । मधेश सरकारका मुख्यमन्त्री सतिश सिंहले चाडपर्वले सामाजिक एकता बलियो बनाउने माध्यम भएको बताएका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोषद्वारा जनकपुरधाममा आयोजित सामाचकेवा मूर्तिकला निर्माण कार्यशालाको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन् ।

उनका अनुसार सामाचकेवा पर्वले दिदीभाइ तथा दाजुबहिनीहरुबिचको सम्बन्धलाई प्रगाढ बनाउनुका साथै छरछिमेकमा समेत बलियो एवम् सकारात्मक सम्बन्ध निर्माण गर्न मद्दत गर्दछ ।

मुख्यमन्त्री सिंहले सबै चाडपर्वका पछाडि आध्यात्मिक, वैज्ञानिक र भौतिक चेतनासँग जोडिएका मूल्य मान्यता रहेको बताए । साँस्कृतिक तथा परम्परागत पर्वको प्रवद्र्धनका लागि प्रदेश सरकारले हरदम सहयोग गर्ने प्रतिवद्ध रहेको उनको भनाइ छ ।

सामाचकेवाका पात्रहरूको परिचय र महत्वसहितको आधिकारिक विवरण समेटिएको श्रव्यदृश्य निर्माण गर्न सञ्चारकर्मीहरूसमक्ष उनले आग्रह गरे ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीले अनुसन्धान, सिर्जना र सम्मान गर्ने उद्देश्यले सामाचकेवासम्बन्धी कार्यशाला आयोजना गरिएको भन्दै मूतिकलामा निपुणताबाट जीविकोपार्जनको अवसर जुर्नसक्ने बताए ।

उनले कार्यविधिबाट नभएर ऐनबाटै मधेशमा प्रज्ञा प्रतिष्ठान गठन गर्न सुझाए । मधेश प्रदेशसभाका सदस्य रामसरोज यादवले सँस्कृति उत्थानका लागि मैथिली विकास कोषले काम गरिरहेकोमा सराहना गरे ।

जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले सामाचकेवा लोप नभई सामाचकेवाका पात्रहरूका बारेमा परिचय र भूमिका पुनर्स्थापित हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा मुख्यमन्त्री सिँह र नेपाल ललितकला प्रतिष्ठानका कुलपति नारदमुनी हार्तम्छालीलाई आयोजक संस्था कोषले सम्मान गरेका थिए ।

मिथिलाञ्लका ख्यातिप्राप्त गायक सुनिलकुमार मल्लिकले सामाचकेवाका गीत गाएका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै