वीरगन्ज । कांग्रेस महामन्त्री गगन थापा तिन दिनदेखि मधेसमा छन् । प्रदेश राजधानी जनकपुरदेखि वीरगन्जसम्मको यात्रामा उनी झण्डै ४० घण्टा बिताएका छन् ।
छठ पर्वको मौका पारेर कांग्रेस महामन्त्री थापा तीनदेखि मधेसको मुख्य तीन जिल्लामा घुमघाम तथा भेटघाट गरेका छन् ।गएको बुधबारदेखि महामन्त्री थापा सपरिवार मधेस ओर्लिएका हुन । प्रदेश राजधानी जनकपुर आइपुगेका थापा बिहीबार भने वीरगन्जमा बसे ।
जनकपुरमा बुधबार साँझको अर्घ दिएर त्यहीदिन वीरगन्ज आइपुगेका हुन । वीरगन्ज सपरिवार आइपुगेका थापाले यहाँ पनि विहान घडिअर्वा पोखरीमा गएर अर्घ दिए ।छठ पर्व मनाउनका लागि मधेस आइपुगेको थापा धार्मिक गतिविधिमा सरिक भइरहको देखिन्छ ।
तेस्रो दिन विहानदेखि थापाको सक्रियाता घडिअर्वा छठघाटदेखि लिएर बाराको गढीमाइ मन्दिर तथा सिम्रौनगढसम्म यात्रा तय गरेका छन् ।प्रदेशका जनकपुर, वीरगन्ज र बारा गरी तीनवटा खास जिल्लामा धार्मिक दृष्टिकोणले घुमघाम गरेपनि त्यसको पछाडि राजनीतिक उद्देश्य रहेको भ्रमणले संदेश दिइरहेको छ ।
कारण– यो तीन दिनको बसाइँमा उनी राजनीतिक भेटघाटसमेत गरेका छन् ।अर्थात् धार्मिक यात्रा भनिए पनि महामन्त्री थापा यो दौरान कांग्रेस कार्यकर्ताहरुसंग पनि भेटघाट तथा सम्बन्ध विस्तारले महामन्त्री थापाको आगामी रणनीतिबारे प्रष्टयाइरहेको छ ।
पछिल्लो यो भ्रमणमा उनी खासगरी युवा पुस्ताका कांग्रेस नेतृत्वसंग भेटघाट गरिरहेका छन् । त्यसको पछाडि आफ्नो कारण छ ।राजनीतिक जानकारका अनुसार उनी अहिले युवा पुस्तालाई विभिन्न बहानामा आफूतर्फ आकर्षण गर्न खोजिरहेको देखिन्छन् ।
त्यसको पुष्टि उनकै सामाजिक सञ्जालमाबाट भइरहेको छ, जहाँ हरेक ठाउँमा युवा पुस्ताका नेताहरु स्वागत तथा भेटघाट गरिरहेको देखिन्छन् ।अहिलेको उनको यात्रा मठमन्दिर तथा छठ घाटमा मात्रै सीमित छैन, कार्यकर्तासंग भेटघाट पनि केन्द्रित छ । जसले झनै अर्थपूर्ण म्यासेज दिइरहेको छ ।
उनी तेस्रो दिन बारा प्रदेश उपसभापति चन्द्रशेखर यादवको घरमा गएर भेटघाट तथा छलफल गरेका छन् । त्यस मानेमा यसको अर्थ छर्लङ भइरहेको छ । राजनीतिक जानकारका अनुसार यो सबको पछाडि विशुद्ध राजनीतिक उद्देश्य नै रहेको छ ।
कांग्रेसका एकजना पूर्वसभापतिका अनुसार मधेस कांग्रेसको बलियो पकड भएको भूगोल हो, त्यसमा पनि अझ कांग्रेस सभापति शेरबहादुर देउवाको पकड भएको कोर एरिया हो । अर्थात् अधिकांश जिल्ला पार्टी सभापति देउवाकै कब्जामा छ ।
पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरीमा सिरहा, र धनुषा गरी ७ वटै जिल्ला सभापति देउवाकै कब्जामा छ भने सप्तरी इतरसंस्थापन पक्षका नेता शेखर कोइरालाको हातमा छ ।
यस हिसाबले मधेश प्रदेशमा गगनको पकड अहिले नगण्य जस्तै छ । महामन्त्री थापा आगामी कांग्रेस महाधिवेशनमा सभापतिमै लड्ने तयारीमा छन् । त्यसकारण उनलाई मधेसको समर्थन चाहिन्छ, ‘सपोर्ट’ भएन भने सभापतिको चाहना दिवा सपना हुनेछ ।
यसकारण महामन्त्री थापा धार्मिक यात्रासंगै प्रदेशमा आफ्नो पकड बलियो बनाउन र अवस्थाको मूल्यांकन गर्न बारम्बार मधेस पुगिरहेको कांग्रेसवृतमा चर्चा छ । राजनीतिक विश्लेषक एवम वरिष्ठ पत्रकार चन्द्रकिशोरका अनुसार छठ पर्वमा विभिन्न ठाउँमा घुम्नुको अर्थ आफूलाई सामाजिकरुपमा जोडिनु हो ।
उनी भन्छन्, ‘यसरी प्रदेशका विभिन्न घाटमा पुग्यो भने त्यस ‘कल्चर’ लाई स्वीकार गरेको बुझिन्छ, सांस्कृतिक पर्वमा सहभागी हुनु भनेकै सकारात्मक कुरा हो । यसलाई त्यो समाजसंग जोडिने अवसर मिल्छ, त्यस मानेमा राजनीतिकमा बल पुग्छ । अनि यहीकारणले आफ्नो ‘कनेक्सन’ पनि बढ्छ ।’
‘यसरी देशका अन्य समुदायका व्यक्तिहरु अरु समुदायका पर्वमा सहभागी हुनु भनेको देशलाई बलियो बनाउन छ,’ उनले भने । उनका अनुसार तर यस्तो ठाउँमा गएर कसैले राजनीतिकरण गर्नु हुँदैन ।
उनले भने, ‘यो माध्यमबाट कोही राजनीतिक गर्न खोज्छ भने त्यो गलत हो, उहाँले गुर्न भएको छैन होला । किनकी उहाँको घुमघाम नितान्त धार्मिक रहेको देखिन्छ, तथापि कसैलाई यस्तो पवित्र ठाउँमा गएर राजनीतिकरण गर्नुहुँदैन ।’
तर कांग्रेस महामन्त्री थापाले आफू मधेको ठूलो पर्वमा सहभागी हुन मात्र आएको बताउँछन् । छोरीहरुलाइृ यहाँको संस्कृतिबारे जानकारी गराउने हेतुले छठ पर्व मनाउन मधेस आइएको उनको भनाइ छ ।