
मधेश प्रदेश सरकार दुग्धमती नदीको अतिक्रमित जग्गा फिर्ता ल्याउन पहल थालेको छ । धनुषा–महोत्तरीको सीमामा पर्ने धार्मिक महत्त्व बोकेको दुग्धमती नदीको अतिक्रमित जग्गा फिर्ता ल्याउन प्रदेश सरकारले पहल थालेको हो ।
मुख्यमन्त्री सतिश सिंहको नेतृत्वमा बुधबार बसेको उच्चस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा दुग्धमती नदीको प्राकृतिक बहाव क्षेत्र पहिचान गरी सीमा निर्धारण गरेर अतिक्रमित जग्गा फिर्ता ल्याउने निर्णय भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
यस्तै दुग्धमती नदीको सीमा यकिन गर्ने एवम् सो कार्यका लागि आवश्यक प्राविधिक तयारी गर्ने निर्णय समेत बैठकले गरेको छ ।
बैठक लगत्तै मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले दुग्धमती नदीको बहाव क्षेत्र, अतिक्रमण लगायतका अवस्थाबारे स्थलगत अवलोकन तथा निरिक्षण समेत गरेको थियो ।
धनुषाको क्षिरेश्वर नगरपालिका–५ स्थित दुग्धमतीको उद्गमस्थलदेखि लिएर लक्ष्मीनियाँ गाउँपालिका–३ स्थित बनिनियाँसम्म टोलीले अवलोकन तथा निरिक्षण गरेको हो ।