जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरमा २० वर्षीया विवाहित महिला घरमै मृत फेला परेपछि प्रहरीले उनका श्रीमानलाइ नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
स्थानीय विनोद दासकी पत्नी प्रियंका दास आइतबार साँझ आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी हुन् ।
उनको शव घरभित्रै रहेको ओछ्यानमा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार प्रियंकालाई सुरुमा सिलिङ पंखामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा देखिएको बताइएको छ ।
त्यसपछि उनका श्रीमान् विनोदले पासो खोलेर शवलाई ओछ्यानमा राखेको मृतकका आफन्तले बताएका छन् ।
घटनाको खबर पाएलगत्तै प्रहरी चौकी कपिलेश्वरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले घटनास्थल सुरक्षित राखेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।
यता, प्रियंकाको मृत्यु शंकास्पद रहेको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् ।
आइतबार रातिसम्म स्थानीयको ठूलो समूह घटनास्थलमा भेला भएर प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेको थियो ।
उनीहरूले प्रियंकाको हत्या भएको आशंका गर्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
प्रदर्शनमा उत्रिएका स्थानीयवासीले घटनास्थल पत्रकारलाई समेत हेर्न दिनुपर्ने माग गरेका थिए ।
घटनास्थलमा पत्रकारलाई प्रवेश गर्न नदिएको भन्दै उनीहरूले प्रहरीप्रति आक्रोशसमेत व्यक्त गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालले प्रहरी टोली घटनास्थलमा पुगेर शवको मुचुल्का उठाउनेलगायतका प्रक्रिया अघि बढाइरहेको जानकारी दिए ।
उनका अनुसार घटनाबारे प्रारम्भिक सोधपुछ गर्न मृतकका श्रीमान् विनोदलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।
प्रहरीले घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको जनाएको छ ।