ट्रेन्डिङ

टेस्लाको गाडीमा पुरानो मूल्यअनुसार थप राजस्व मागेको भन्दै वीरगन्ज भन्सारविरुद्ध आयातकर्ताको आपत्ति

वीरगन्ज । अन्तर्राष्ट्रिय बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्य घटेको अवस्थामा नेपालमा आयात गरिएको गाडीको वास्तविक खरिद मूल्यभन्दा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व माग गरिएको भन्दै आयातकर्ता कम्पनीले वीरगन्ज भन्सार कार्यालयप्रति आपत्ति जनाएको छ ।

चीनको सांघाईमा उत्पादन भएको टेस्ला मोडल वाई आरडब्लुडी आयात गरेको कायरोस इन्टरनेशनल प्रालिले भन्सार कार्यालयले जाँचपास भइसकेका गाडीमा पुनः थप राजस्व माग गरेको जनाएको हो ।

कम्पनीका अनुसार वीरगन्ज भन्सार कार्यालयले असोज ११ गते पत्र पठाउँदै यसअघि छुट भएको भनिएको भन्सार राजस्व दाखिला गर्न ताकेता गरेको छ ।

दुईवटा गाडीमा मात्रै प्रतिगाडी करिब ७८ देखि ७९ लाख रुपैयाँका दरले थप राजस्व माग गरिएको कम्पनीको दाबी छ ।

यसअनुसार करिब डेढ करोड रुपैयाँभन्दा बढीको थप दायित्व सिर्जना भएको कम्पनीले जनाएको छ ।

कम्पनीका भन्सार प्रतिनिधि मधुकुमार बरालका अनुसार हाल आयात गरिएका गाडी चीनको सांघाईमा उत्पादन भएर हङकङ हुँदै नेपाल आएका हुन् ।

विगतमा अमेरिकामा उत्पादन भएका समान मोडलका गाडीको तुलनामा उत्पादन तथा आपूर्ति शृंखला छोटो भएकाले अहिलेको खरिद तथा ढुवानी लागत कम परेको उनको भनाइ छ ।

बरालका अनुसार करिब ६ महिनाअघि एरेटे इन्टरनेशनल प्रालिले अमेरिकाबाट टेस्लाको समान मोडल आयात गर्दा ३४ हजार ५०० अमेरिकी डलर अर्थात् करिब ५० लाख ६२ हजार १८५ रुपैयाँ मूल्य कायम गरिएको थियो ।

सो गाडीमा ६० प्रतिशत भन्सार महसुलबापत ३० लाख ३७ हजार ३११ रुपैयाँ, ३५ प्रतिशत अन्तःशुल्कबापत २८ लाख ३४ हजार ८२४ रुपैयाँ, सडक सम्भार दस्तुरबापत ५ लाख ४६ हजार ७१६ रुपैयाँ र १३ प्रतिशत भ्याटबापत १४ लाख ९२ हजार ५३५ रुपैयाँ राजस्व दाखिला गरिएको बरालले बताए ।

उनका अनुसार उक्त गाडीमा कुल ७९ लाख ११ हजार ३८६ रुपैयाँ राजस्व तिरिएको थियो ।

तर अहिले चीनमा उत्पादन भएको समान ब्रान्ड तथा मोडलको गाडीको खरिद मूल्य नै कम परेको आयातकर्ता पक्षको दाबी छ ।

कम्पनीले अन्तर्राष्ट्रिय बजारमा नयाँ मोडल वा उत्पादन संस्करण आएपछि पुराना मोडलको मूल्य घट्नु स्वाभाविक रहेको तर्क गरेको छ ।

‘आईफोनको नयाँ सिरिज बजारमा आएपछि पुरानो मोडलको मूल्य घटेजस्तै अन्तर्राष्ट्रिय बजारमा गाडीको मूल्य पनि परिवर्तन हुन्छ,’ बरालले भने, ‘विश्व बजारमा अहिलेको मूल्य अनलाइनबाट समेत देखाउन सकिने अवस्थामा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व माग्नुको आधार के हो भन्ने हाम्रो प्रश्न हो ।’

कायरोसका अनुसार हाल आयात गरिएको गाडीको हङकङमा एमआरपी २ लाख ५४ हजार हङकङ डलर रहेकोमा भ्याट तथा एजेन्सी छुटलगायत रकम घटाउँदा मूल्य करिब २ लाख ५०० हङकङ डलर कायम हुन्छ ।

नेपाली रुपैयाँमा रूपान्तरण गर्दा यसको आधारभूत मूल्य करिब ३८ देखि ३९ लाख रुपैयाँ पर्ने कम्पनीको दाबी छ ।

कम्पनीले उपलब्ध गराएको हिसाबअनुसार उक्त मूल्यमा करिब ७ लाख ७७ हजार ५३९ रुपैयाँ भन्सार महसुल, १६ लाख ३२ हजार ८३२ रुपैयाँ एकीकृत महसुल, ३ लाख १४ हजार ९०४ रुपैयाँ सडक सम्भार दस्तुर र ८ लाख ५९ हजार ६७७ रुपैयाँ भ्याट गरी कुल कर तथा राजस्व करिब ३५ लाख ८४ हजार ९६२ रुपैयाँ पर्ने दाबी गरेको छ ।

जाँचपास भएर बिक्री भइसकेपछि थप राजस्वको पत्र

कायरोसका अनुसार चालु आर्थिक वर्षमा जुलाई २९ र सेप्टेम्बर ९ मा गरी दुई खेपमा टेस्ला मोडल वाई आरडब्लुडी नेपाल आयात गरिएको थियो ।

ती गाडी वीरगन्ज भन्सारबाट जाँचपास भइसकेका छन् भने ग्राहकलाई बिक्रीसमेत भइसकेको कम्पनीले जनाएको छ ।

तर जाँचपास भएको केही समयपछि केही सञ्चार माध्यममा प्रकाशित समाचारपछि भन्सार कार्यालयको आन्तरिक लेखापरीक्षणबाट राजस्व कम असुल भएको निष्कर्ष निकालिएको भन्दै थप रकम दाखिला गर्न पत्र आएको कम्पनीको भनाइ छ ।

गाडी बिक्री भइसकेकाले ग्राहकबाट पुनः थप रकम उठाउन सम्भव नरहेको कम्पनीले जनाएको छ ।

ग्राहकले गाडी खरिद गर्दा तोकिएको मूल्यअनुसार सम्पूर्ण रकम भुक्तानी गरिसकेको उसको भनाइ छ ।

आयातकर्ता पक्षले भन्सार मूल्यांकन गर्दा गाडी उत्पादन भएको देश, वास्तविक खरिद मूल्य, ढुवानी खर्च, आयातसम्बन्धी कागजात तथा अन्तर्राष्ट्रिय बजारमा कायम मूल्यलगायत आधारलाई हेर्नुपर्ने तर्क गरेको छ ।

‘छ महिनाअघिको मूल्य अहिले पनि लागू हुन सक्दैन’

आयातकर्ता पक्षले अन्तर्राष्ट्रिय बजारमा विद्युतीय सवारीसाधनको मूल्य निरन्तर परिवर्तन हुने भएकाले केही महिनाअघि आयात भएको समान मोडलको मूल्यलाई आधार बनाएर पछिल्लो आयातमा पनि त्यही मूल्य कायम गर्न खोज्नु व्यावहारिक नहुने जनाएको छ ।

विशेषगरी टेस्लाजस्ता अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसाधन विभिन्न उत्पादन केन्द्रबाट उत्पादन हुने र बजारअनुसार मूल्य फरक हुन सक्ने भएकाले प्रत्येक आयातको वास्तविक व्यापारिक कागजातका आधारमा भन्सार मूल्यांकन हुनुपर्ने कम्पनीको भनाइ छ ।

कम्पनीले चीनमा उत्पादन भएको गाडीको वास्तविक खरिद मूल्य र अमेरिकामा उत्पादन भएर पहिले आयात भएको गाडीको मूल्यबीच ठूलो अन्तर रहेको अवस्थामा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व निर्धारण गर्नु उचित नभएको दाबी गरेको छ ।

थप राजस्व फिर्ता नभए आन्दोलनको चेतावनी

थप राजस्वको माग फिर्ता नभए व्यवसायीहरूले आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएका छन् ।

आयातकर्ता पक्षले जाँचपास भई बिक्रीसमेत भइसकेका गाडीमा पछि गएर ठूलो कर दायित्व सिर्जना हुँदा व्यवसायी र ग्राहक दुवै प्रभावित हुने जनाएको छ ।

व्यवसायीहरूको मुख्य प्रश्न अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको अवस्थामा भन्सार मूल्यांकन वास्तविक खरिद मूल्यका आधारमा गर्ने कि विगतमा समान मोडलमा कायम भएको आयात मूल्यलाई आधार बनाउने भन्ने विषयमा स्पष्टता हुनुपर्ने रहेको छ ।

आयातकर्ता पक्षले उत्पादनको देश, वास्तविक खरिद मूल्य, ढुवानी खर्च र सम्बन्धित कागजातका आधारमा मूल्यांकन गर्ने स्पष्ट र व्यवहारिक व्यवस्था आवश्यक रहेको जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै