वीरगन्ज । दशैं–तिहार तथा छठ पर्व नजिकिँदै गर्दा पर्सा प्रहरीले अझै सुरक्षा योजना तयार गर्न सकेको छैन । पर्सा जस्तो संवेदनशील जिल्लामा अहिलेसम्म सुरक्षा योजना तयार नपार्दा प्रहरीले गम्भीर खेलाँची गरिरहेको टिप्पणी भइरहेको छ ।
घटस्थापनाको दिन नजिकिँदै गए पनि जिल्लाको समग्र सुरक्षा अवस्थाबारे प्रहरी परिचालनको स्पष्ट खाका तयार नभएको पर्सा प्रहरी भनाइ छ ।
काठमाडौंसहित देशका विभिन्न जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक भइरहँदा पनि पर्सा प्रहरी भने अझै सुरक्षा योजना निर्माणकै चरणमा रहेको दाबी गरिरहेको छ । यसरी ठूला पर्व सुरु हुन लाग्दा पनि सुरक्षा योजना ‘फाइनल’ नहुनुले जिल्लाको सुरक्षा तयारीमाथि गम्भीर प्रश्न उठेको छ । कारण चाडपर्वका बेला वीरगन्जसहित जिल्लामा मानिसको आवागमन बढ्ने, बजारमा भीडभाड बढ्ने तथा सीमा क्षेत्रमा समेत गतिविधि बढ्ने गर्दछ ।
जेनजी आन्दोलनपछि संवेदनशील समयमा कुन क्षेत्रमा कति प्रहरी परिचालन गर्ने ? भीडभाड हुने स्थानमा कस्तो सुरक्षा व्यवस्था अपनाउने ?सीमा क्षेत्रमा निगरानी कसरी बढाउने र सम्भावित आपराधिक गतिविधि नियन्त्रणका लागि कस्तो रणनीति अपनाउने ? भन्ने विषयमा प्रहरीले समयमै योजना बनाउनुपर्ने हुन्छ । तर पर्सा प्रहरीले भने अहिलेसम्म सुरक्षा योजनाको अन्तिम खाका तयार भइनसकेको जनाइरहेको छ । यसले गर्दा प्रहरीको हेलचेक्या्रइ भइरहेको पूर्व प्रहरी अधिकारीहरु बताउँछन् ।
पर्सा प्रहरीका प्रवक्ता डिएसपी चक्रबहादुर मल्लले यो सवालमा अहिले सुरक्षा योजनाको तयारी भइरहेको प्रतिक्रिया दिएका छन् । मधेस सञ्चारसंगको कुराकानीमा कहाँ र कसरी प्रहरी परिचालन गर्ने तथा कुन मोडालिटीमा सुरक्षा व्यवस्थापन गर्ने भन्ने विषयमा अध्ययन भइरहेको उनको भनाइ छ ।
‘अहिले योजना फाइनल भइसकेको छैन । योजना बनाउने प्रोससमै छौँ । कहाँ कसरी प्रहरी परिचालन गर्ने र कुन मोडालिटीमा जाने भन्ने विषयमा अध्ययन भइरहेको छ,’ डिएसपी मल्लले भने, ‘सबै खाकाको तयारी भइसकेपछि सुरक्षा योजना सार्वजनिक गर्छौं ।’
दशैं–तिहारमा बजार, सार्वजनिक यातायात, धार्मिक तथा पर्यटकीय स्थल र सीमा क्षेत्रमा विशेष चहलपहल हुने गर्छ । त्यसकारण चाडपर्वमा हुने चोरी, लुटपाट, ठगी, सवारी दुर्घटना, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीले सुरक्षा रणनीति तयार गरिसक्नुपर्ने प्रहरीका पूर्वअधिकारी बताउँछन् । तर अहिलेसम्म पनि सुरक्षा योजना निर्माणकै क्रममा रहनुले प्रहरीको रवैयामाथि उनीहरुले प्रश्न उठाएका छन् ।
उनीहरूका अनुसार सुरक्षा व्यवस्थापनमा तत्कालको प्रतिक्रियाभन्दा पूर्वतयारी महत्वपूर्ण हुन्छ । विशेषगरी चाडपर्वको भीडभाड र बढ्दो आवागमनलाई मध्यनजर गर्दै संवेदनशील क्षेत्र पहिचान, प्रहरी परिचालन, नियमित गस्ती, सीमा निगरानी र आकस्मिक अवस्थाको व्यवस्थापनबारे योजना पहिल्यै स्पष्ट हुनुपर्ने हुन्छ ।
दशैंको मुख्य चहलपहल सुरु हुन अब केही दिन मात्रै बाँकी रहँदा पनि पर्सा प्रहरीले ‘अध्ययन भइरहेको’ भन्दै सुरक्षा योजना सार्वजनिक गर्न नसक्नु सामान्य ढिलाइ नभई सुरक्षा तयारीमै प्रश्न उठाउने विषय बनेको प्रहरीका पूर्वअधिकारीहरुको ठम्याइँ छ ।