वीरगन्ज । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य अन्जु झा पार्टीको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशनबाटै रोकिएकी छन् ।
रौतहट क्षेत्र नम्बर २ अन्तर्गत इसनाथ नगरपालिकाको वडा नम्बर ३ मा सम्पन्न वडा अधिवेशनबाट झा क्षेत्रीय प्रतिनिधिमा चयन हुन नसकेपछि महाधिवेशन प्रतिनिधि बन्ने उनको बाटो रोकिएको हो ।
विशेष महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी झा वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि बन्न नसकेपछि क्षेत्रीय अधिवेशनमा सहभागी हुन पाइनन् ।
क्षेत्रीय प्रतिनिधि नै बन्न नसकेपछि उनी महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बन्ने प्रक्रियाबाट समेत बाहिरिएकी हुन् ।
रौतहट क्षेत्र नम्बर २ का कांग्रेस सांसद फिरदोस आलमले वडा अधिवेशनमा बहुमतबाट झाको नाम नआएकाले उनी क्षेत्रीय प्रतिनिधि बन्न नसकेको बताए ।
उनका अनुसार वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधिका लागि भएको छनोटमा बहुमतले झाको नाम नल्याएपछि उनी उक्त प्रक्रियाबाट बाहिरिएकी हुन् ।
यता कांग्रेस स्रोतले भने वडा अधिवेशनमै झालाई क्षेत्रीय प्रतिनिधि बन्नबाट रोक्न ‘जालझेल’ गरिएको दाबी गरेको छ ।
स्रोतका अनुसार इसनाथ नगरपालिका–३ मा भएको वडा अधिवेशनमा झाको पक्षमा प्रतिनिधि चयन हुन नदिने गरी प्रक्रिया अघि बढाइएको थियो ।
यद्यपि, झा स्वयंले यस विषयमा सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएकी छैनन् ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहबाट क्षेत्रीय प्रतिनिधि छनोट हुँदै क्षेत्रीय अधिवेशनमार्फत महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ ।
सोही प्रक्रियामा क्षेत्रीय प्रतिनिधि बन्न नसकेपछि झा महाधिवेशन प्रतिनिधि छनोटको प्रतिस्पर्धाबाट बाहिरिएकी हुन् ।