वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमबीचको टकराव थप सतहमा आएको छ ।
यसको प्रत्यक्ष असर महानगरपालिकाको बजेटमा समेत देखिएको छ ।
मेयर सिंह निलम्बनमा रहेका बेला तत्कालीन कार्यबाहक मेयरसमेत रहेका उपमेयर आलमको सभाध्यक्षतामा पारित भएको चालु आर्थिक वर्ष २०८३/८४ को बजेट मेयर सिंहले पुनः नेतृत्व सम्हालेपछि संशोधन गरेका छन् ।
बुधबार सम्पन्न महानगरपालिकाको २१औँ विशेष नगरसभाले यसअघि पारित बजेटमा २१ करोड रुपैयाँ घटाउँदै संशोधित बजेट पारित गरेको हो ।
असार १० गते सम्पन्न २०औँ नगरसभाबाट तत्कालीन कार्यबाहक मेयर आलमको नेतृत्वमा ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको बजेट पारित भएको थियो ।
तर विशेष अदालतबाट सफाइ पाएपछि असोज ३ गतेदेखि पुनः महानगरको नेतृत्व सम्हालेका मेयर सिंहले १२औँ दिनमा विशेष नगरसभा बोलाएर उक्त बजेट संशोधन गराएका हुन् ।
संशोधनपछि महानगरपालिकाको कुल बजेट ४ अर्ब २१ करोड ३४ लाख ६९ हजार रुपैयाँ कायम भएको छ ।
अर्थात् यसअघि विनियोजन गरिएको बजेटबाट २१ करोड रुपैयाँ कटौती गरिएको हो ।
बजेट संशोधनका विषयमा महानगरपालिकाले आन्तरिक राजस्व परिचालनमा संकुचन आएको, वित्तीय समानीकरण अनुदान तथा राजस्व बाँडफाँटबाट प्रक्षेपण गरिएअनुसार स्रोत प्राप्त हुन नसकेको र अनिवार्य चालु खर्च बढेको कारण देखाएको छ ।
तर बजेट संशोधन भएको विशेष नगरसभामा उपमेयर आलमसहित नेपाली कांग्रेसबाट निर्वाचित अधिकांश जनप्रतिनिधि भने सहभागी भएनन् ।
यसले मेयर र उपमेयरबीचको विवादलाई थप प्रस्ट पारेको छ ।
नेपाली कांग्रेस पर्सा जिल्ला कार्यसमितिले मंगलबार विज्ञप्ति जारी गर्दै पार्टीबाट निर्वाचित उपमेयर, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरूलाई विशेष नगरसभामा सहभागी नहुन ह्वीप जारी गरेको थियो ।
सोही ह्वीपका कारण उपमेयर आलम विशेष नगरसभामा सहभागी भएनन् ।
यद्यपि कांग्रेसबाट निर्वाचित केही कार्यपालिका सदस्य भने सभामा पुगेका थिए ।
यसअघि मेयर सिंह निलम्बनमा रहँदा महानगरको कार्यबाहक नेतृत्व उपमेयर आलमले सम्हालेका थिए ।
सोही क्रममा असार १० गते नगरसभा बोलाएर चालु आर्थिक वर्षको बजेट पारित गरिएको थियो ।
मेयर सिंह विशेष अदालतबाट सफाइ पाएपछि पुनः कार्यालय फर्किएसँगै महानगरको नेतृत्वमा दुई जनाबीचको शक्ति संघर्ष देखिन थालेको हो ।
संशोधित बजेटमा कहाँ कति ?
संशोधित बजेटमध्ये चालुतर्फ २ अर्ब ३३ करोड १६ लाख ८५ हजार रुपैयाँ, पुँजीगततर्फ १ अर्ब ८१ करोड १७ लाख ८४ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।