वीरगन्ज । आफ्नो निर्वाचन क्षेत्रस्थित हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले ९ महिनादेखि पारिश्रमिक नपाएको भन्दै प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराइएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदले दशैंको मुखमा समेत लामो समयदेखि पारिश्रमिक नपाएका श्रमिकको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका हुन् ।
उनले हिमाल आइरन एन्ड स्टिल उद्योगका श्रमिकले ९ महिनादेखिको करिब साढे २ करोड रुपैयाँभन्दा बढी पारिश्रमिक पाउन बाँकी रहेको बताए ।
लामो समयदेखि पारिश्रमिक नपाउँदा श्रमिकहरू आर्थिक समस्यामा परेको भन्दै उनले दशैंअघि नै उनीहरूको पारिश्रमिक भुक्तानीका लागि सरकारले समन्वय र सहजीकरण गर्नुपर्नेमा जोड दिए ।
‘दशैंको मुखमा ती श्रमिकहरूको तलब यथाशीघ्र भुक्तानीका लागि समन्वय एवं सहजीकरणको पहल गरिदिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।
उनले कुनै समय हजारौँ श्रमिकलाई रोजगारी दिएको ज्योति समूहअन्तर्गतको उक्त औद्योगिक प्रतिष्ठान अहिले करिब १५० जना श्रमिकको समेत पारिश्रमिक दिन नसक्ने अवस्थामा पुग्नुको कारणबारे समेत प्रश्न उठाएका छन् ।
औद्योगिक प्रतिष्ठानहरू संकटमा पर्नुको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।
पछिल्ला सरकारका आर्थिक तथा बैंकिङ लगानी नीतिका कारण यस्ता औद्योगिक संकट निम्तिएको भन्दै उनले संकटग्रस्त उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सरकारले विशेष आर्थिक नीति ल्याउनुपर्ने माग गरे ।
संकटग्रस्त उद्योगलाई उकासेर रोजगारी संरक्षण गर्नुका साथै मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार गम्भीर बन्नुपर्ने उनले बताए ।
हिमाल आइरन एन्ड स्टिल उद्योगका श्रमिकले लामो समयदेखि पारिश्रमिक नपाएको विषयमा सरकारको सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने उनको माग छ ।